बुटवल, असार ९
नेपाल पत्रकार महासंघले सदस्यता विवादको विषयलाई टुंगो नलगाई निर्वाचन तालिका घोषणा गरेकोप्रति प्रगतिशील पत्रकार संघ, नेपालले आपत्ती जनाएको छ । सदस्यता सुद्विकरणमा देखिएको विवाद टुंगाएर मात्रै निर्वाचनको मिती तोक्नु पर्ने प्रगतिशील पत्रकार संघले बताएको छ ।
महासंघले सुद्विकरणको नाममा फरक विचार राख्ने पत्रकारहरुको सदस्यता खारेज गरिएको प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेलले बताउनुभयो । आफ्नालाई मात्रै सदस्यता वितरण गरी निर्वाचन तालिकासहित निर्वाचनको मिती तोक्नु गलत भएको अध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले विधान, सुर्खेत साधारणसभा र जेठ २० गतेको लिखित सहमतिविरुद्ध गएपछि प्रगतिशीलले संघर्षमा जाने चेतावनी दिएको छ । प्रगतिशील पत्रकार संघ सदस्यता विवादमा आन्दोलन, अदालत र सहकार्य गरी संघर्षको तीनओटै मोर्चाबाट अगाडी बढ्ने अध्यक्ष पोखरेलले बताउनुभयो ।
असार ७ गते राती जारी नामावलीमा आफ्नो संगठनसम्बद्ध क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको, नयां पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरण विवाद टुंगो नलगाइएकाले यो समस्या समाधान नगरिए चुनाव गर्न नदिने प्रगतिशीलको दाबी गरेको छ । सदस्यता शुद्धीकरणको सन्दर्भमा आस्थाकै आधारमा क्रियाशील पत्रकारको सदस्यता खारेज गरिएको, मापदण्ड पुगेका नयां पत्रकारलाई सदस्यता नदिइएको र स्थानान्तरणको विषयलाई नसमेटिएकाले समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु पर्ने प्रगतिशीलको माग छ ।
नेपाल पत्रकार महासंघको विभेदकारी नीति तथा व्यवहारको विरोध गर्दै प्रगतिशील पत्रकार संघ नेपालले गत जेठ १५ गते महासंघको केन्द्रीय कार्यालयमा तालावन्दी गरेको थियो ।
समस्या समाधान गर्ने गरी महासंघको तर्फबाट अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीले लिखित सहमती गरेपछि ताला खोलिएको र अहिले लिखित सहमती महासंले उलंघन गरेकाले आन्दोलनमा उत्रनु परेको अध्यक्ष श्यामलाल पोखरेलले बताउनुभयो ।