बुटवल, कार्तिक १८
जाजरकोट केन्द्रविन्दु भएर गएराती भएको भूकम्पमा परी घाइतेहरुको उद्धार तथा उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।
मानवीय क्षति न्युनिकरण तथा त्यहाँको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले डाक्टरसहितको टोली औषधी लिएर त्यसतर्फ प्रस्थान गरेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. सुदर्शन थापाले जानकारी दिनुभयो । भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि अस्पतालमा बिरामी ल्याउनु पर्ने अवस्था आएको खण्डमा समेत सोही अनुसारको तयारी गरिएको मेसु डा. थापाले जानकारी दिनुभयो ।
अस्पतालका एमडीजीपी डा. सुनिल सुनारको नेतृत्वमा ५ जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो । भूकम्पमा परी हालसम्म १२८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । १०८ जना घाइतेलाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।