बुटवल , असार १८
सञ्जीव चौधरीेले १२ कक्षा उतीर्ण गरेका छन् । उनले पढेको दाङकाे दीपज्योति बोर्डिङ स्कुलमा हो । केही कुरो सोध्यो भने खिस्स हाँस्छन्। लजालु स्वभाव र लगनशील छन् उनी।
राप्ती-८,पिपरी देउखुरी दाङमा यिनको घर पर्छ । बलदेव र सावित्री चौधरीकी एकमात्र सन्तान हुन् । अहिले २१ वर्षमा टेक्दैछन्। सानैदेखि चित्र कोर्न रुचि रहेको सुनाए । जसलाई तिर्खा लाग्छ ,उसैले खोलो धाउँछ भनेझैं यिनी दाङबाट २०७९ सालमा बुटवल आए ।ललितकला पढाई काठमाडौंमा हुन्छ भन्ने नसुनेका पनि होइनन्।
आर्थिक समस्याले "आकाशको फल आँखा तरि मर" भनेझै भयो । आफ्नै मामा पर्ने महेश चौधरी यतै वल्डलिङ्क कम्पनीमा काम गर्थे। मामाको सहायताले बुटवल-सुख्खानगरस्थित, राजु आर्टसका सञ्चालक चन्द्रबहादुर खड्का (राजु)सँग परिचित हुने मौका पाए।
"ढुङ्गा खोज्दा देउता" मिलेझैं भयो सञ्जीवलाई। खुशीले बेस्सरी हौशिए। महिनाको एकहजार पाँचसय शुल्क तिरेर चित्रकला सिक्ने बाचा गरे। दुई महिनासम्म मिहिनेतकासाथ सिकेपछि दशैँ,तिहारमा गाउँ फर्के। कलामा सम्भावना देखेर होला राजुले बुटवल बोलाए।
निरन्तर कलाकर्म गरिरहेका छन्। दिनप्रति दिन कलामा निखारता आइरहेको छ उनकाे ।चित्रहरु दुरुस्त कोर्छन्। आफूलाई खान,बस्न र पकेट खर्च पुर्याएका छन्।
अहिले शुल्क तिर्नु पर्दैन। लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी- २०८० मा आफ्नो चित्रकला प्रदर्शित भएकोमा खुशी अनि दङ्ग छन् उनी।भन्छन् -देश/विदेश जाने पटक्कै सोच छैन। अहिले १२ पास गरि विदेश जानेको लहडनै चलिरहेको छ। तर उनमा भने अझ राम्रोसँग कला सिकेर आफ्नै गृह जिल्ला दाङमा गई व्यवसायिक आर्टिष्ट बन्ने उत्तम सोच छ ।
सञ्जीवकाे सपना पूरा हाेस् कामना ।