Hamroprayas
सामुदायिक वनको विकास र संवर्धन गरौं : पूर्व मूख्यमन्त्री गिरी

तिलोत्तमा,असार,२१

लुम्विनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले शंकरनगर सामुदायिक वन यस क्षेत्रको गहना भएकाले सबै मिलेर यसको विकास र संवद्र्धन गर्नुपर्ने बताउनु भएको छ । उहांले सामुदायिक वनको दीगो ब्यवस्थापन गरी गरिवी घटाउन र लाभान्वित समुदायको जीविकोपार्जनको स्रोत वनाउन वनको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा १–४ रुपन्देहीले गरिवी न्युनिकरण, महिला सशक्तिकरण तथा उद्यम विकास कार्यक्रम अन्तर्गत आयोजना गरेको क्षमता अभिबृद्धि सम्बन्धि २ दिने तालिमको शुक्रबार उद्घाटन गर्दै पूर्व मुख्यमन्त्री गिरीले कानुनको अज्ञानता क्षम नहुने र कानुनको जानकारीका अभावले धेरै मानिसले दुःख पाइरहेको परिवेशमा सामुदायिक वनले आयोजना गरेको यो तालिम आफैमा महत्वपुर्ण रहेको बताउनु भयो ।

पछिल्लो पटक मुलुकमा विकासित राजनीतिक घटनाक्रमको प्रसंंग उल्लेख गर्दै पूर्व मुख्यमन्त्री गिरीले विगतमा नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्यले धेरै राम्रो परिणाम ल्याएकोले यो सहकार्य २०८४ को चुनाव सम्म जान सके मुलुकले सही गति लिने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले सामुदायिक वनलाई समुदायको विकास र समग्र देशको आर्थिक स्रोतका रुपमा विकास गर्नुपर्ने बताउनु भयो। सबैको सहकार्यबाट मात्र संमृद्धि सम्भव भएकाले वनलाई आर्थिक विकास, आयमुलक कार्यक्रम गर्दै वनको माध्यमबाट युवा तथा महिलाहरुलाई स्वरोजगारसंग जोडेर विदेशिने युवाहरुलाई स्वदेशमै रोक्न सकिने बताउनु भयो । उहांले सामाजिक विकासका काममा सबै एकजुट भई जनप्रतिनिधिहरु प्नि साझारुपले अगाडी बढ्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

सामुदायिक वनका अध्यक्ष रविन्द्र बस्नेतले सामुदायिक वनले वार्षिक कार्ययोजना अनुसार दुई दिवसीय क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको र वनले वनका उपभोक्ताहरुको क्षमता, ब्यक्तित्व र नेतृत्व विकास संगै गरिवी न्युनिकरण तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आईरहेको बताउनु भयो ।कार्यक्रममा सामुदायिक वनका सल्लाहकार मोहन चापागाई, एमाले तिलोत्तमा नगर अध्यक्ष तामनाथ पाण्डे, तिलोत्तमा १ का अध्यक्ष फर्सुराम गिरी, सामुदायिक वनका सचिव कालिका अधिकारी, कोषाध्यक्ष भुवन आचार्यलगायतले वोल्दै तालिममा सिकेका कुराहरुलाई ब्यवहारिक जीवनमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

दुई दिने तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई दुई समूहमा विभाजन गरी महिला विरुद्धको हिंसा, महिला शसक्तिकरण र लैंगिक न्याय, बैकिङ कसुर, कानुनी ब्यवस्था र अदालती दृष्टिकोण, मुलुकी देवानी संहिता र यसका विशेषता तथा विद्युतीय अपराध, कानुन, न्यायिक अभ्यास र अपराधका प्रकृतिलगायतका विषयमा न्यायाधीश पुण्यशिला दवाडी, न्यायाधीश इश्वर पराजुली, अधिवक्ता खुमकान्त पौडेल र तिलोत्तमा नगरपालिकाका शाखा अधिकृत सीता घिमिरेले सहजीकरण गर्नुहुने वनका कार्यसमिति सदस्य मिनप्रसाद देवकोटाले बताउनुभयो ।तालिममा तिलोत्तमा १–४ का महिला र पुरुष गरी १०६ जना उपभोक्ताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update