Hamroprayas
अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जान्छ : अर्थमन्त्री पौडेल 

काठमाडौं,  असार ३१ 
नवनियुक्त उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ । सोमबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री पौडेलले स्थायी सरकार गठन भएसँगै मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै जाने विश्वास व्यक्त गर्नुभएको हो ।

सरकारको सोच र दृष्टिकोण कार्यान्वयन गर्न बजेट बाधक नबन्ने समेत उनले बताउनुभयो । यदि बाधा देखियो भने कसरी फुकाउने भनेर कानूनी र संवैधानिक व्यवस्थाका आधारमा संशोधन प्रक्रियामा जाने उहाँको भनाइ छ ।

उहाँले  शेयर बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा रहेकाले यो क्षेत्र सन्तुलित ढंगले अघि बढोस् भन्ने चाहना रहेको बताउनुभयो । आजै पौडेलले विकास वित्तका क्षेत्र पहिचानका लागि अध्ययन गरिने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो ।

पाचौं पटक अर्थमन्त्री बन्नुभएका पौडेलको जिवनयात्रा र जिम्मेवारी हेरौं 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाँचौपटक अर्थमन्त्री बन्नुभएको छ । यसअघि दुईपटक उपप्रधान सहित अर्थमन्त्री र दुईपटक अर्थमन्त्री मात्रै बन्नुभएका पौडेलले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको केपी ओली नेतृत्वको सरकारमा पुनः उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको हो ।

ओली पहिलोपटक प्रधानमन्त्री बन्दा पौडेलपनि पहिलोपटक २०७२ कार्तिक १९ देखि २०७३ साउन १९ सम्म अर्थमन्त्री बन्नुभएको थियो । दोश्रोपटक पनि ओली नेतृत्वकै सरकारमा २०७७ असोज २८ देखि २०७८ बैशाख ३१ गतेसम्म पौडेल अर्थमन्त्री रहनुभयो ।  ओलीको दोस्रो कार्यकालको सुरुवातमा युवराज खतिवडा अर्थमन्त्री बनेपनि उहाँ बाहिरिएपछि पौडेलले नै सो मन्त्रालय सम्हाल्नुभएको थियो । 

त्यस्तै ओली नेतृत्वकै सरकारमा २०७८ जेठ १ देखि असार २९ सम्म उपप्रधान तथा अर्थमन्त्री बनेका पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा २०७९ पुष ११ देखि फागुन १५ सम्म उपप्रधान तथा अर्थमन्त्री रहनुभयो । 

पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको यो पाँचौ पटक भएपनि सरकारमा सहभागि भएको भने यो आठौं पटक हो। पहिलो पटक लोकन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा २०५३ चैत्र १२ देखि २०५४ असोज १० सम्म युवा खेलकुद तथा संस्कृतिमन्त्री हुँदै पौडेलले सरकारमा सहभागि हुने अवसर पाउनुभएको हो । 

त्यसपछि २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा पौडेल जलश्रोत मन्त्री हुनुभएको थियो । त्यस्तै २०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म झलनाथ खनाल नेतृत्वको सरकारमा पौडेल रक्षामन्त्री हुनुभएको थियो ।

मधेश आन्दोलन र कोराना महामारीको बेला अर्थमन्त्रालयको जिम्मेवारी सम्हाली सफल अर्थमन्त्रीको पहिचान बनाउनुभएका पौडेलका अगाडी यसपटक भने चुनौतीका चाङ छन्। अहिले देशको अर्थतन्त्र शिथिल बनिरहेको अवस्थामा अर्थतन्त्रलाई लयमा ल्याउन ठूलो चुनौती झेल्नुपर्ने छ भने चुनौतीहरुको विवेकपूर्ण समाधान गरि अर्थतन्त्रलाई लयमा ल्याउन सके उहाँको उचाइ पनि बढ्ने छ।

पार्टीमा आवद्धता र भूमिका

एमाले र माओवादी मिलेर बनेको नेकपाका महासचिव बनेका ६५ वर्षीय पौडेल नेकपा एमालेका उपाध्यक्ष हुनुहुन्छ । सत्र बर्षको उमेरमा क्याम्पस पढ्न भन्दै २०३३ सालतिर भिनाजु गोपीरमण उपाध्यायसँग बुटवल झरेका पौडेल प्रदिप नेपालसँगको सम्पर्कपछि पढाई छोडेर कम्युनिष्ट आन्दोलनमा लाग्नुधएको थियो । माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक भईरहन्थ्यो।

त्यहि बैठकमा आईरहने प्रदिप नेपाल र भिनाजुको प्रेरणाले पौडेल कम्युनिष्ट आन्दोलनमा होमिएका थिए। सुरुवातमा तत्कालिन लुम्बिनी अञ्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गर्दै गर्दा २१ वर्षको उमेरमा प्रहरीबाट पक्राउ पर्नुभयो ।  मोदनाथ प्रश्रितहरुसँगै २०३७ सालमा भैरहवा जेलब्रेक गरेपछि उहाँको राजनीतिक जिवन फराकिलो बन्दै गयो।
कैलाश, पवन, उमेश, दिव्य, ध्रव, जयन्त, कपिल जस्ता विभिन्न छद्यम नामबाट २०३५ देखि २०४६ सम्म लुम्बिनीमा भूमिगत भएर काम गरेका पौडेलले बहुदलिय व्यवस्था स्थापनापछि २०४६ सालमा तत्कालीन नेकपा मालेको राष्ट्रिय परिषद् सदस्य भएर महाकाली अञ्चल इन्चार्जको जिम्मेवारी पाउनुभएको थियो ।

नेकपा माले र माक्र्सबादी बिच एकिकरण पछि बनेको नेकपा एमालेमा २०४७ सालमा केन्द्रीय सदस्य बने भने २०५१ सालमा संगठन विभाग प्रमुख बन्नुभयो । २०५४ मा नेपालगञ्जमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पौडेल २०५९ माघ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित हुनुभयो ।

२०६५ फागुनमा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट सचिव, २०७१ असारमा काठमाण्डौमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट उपमहासचिव, २०७५ जेठमा एमाले र माओवादी एकिकरण पछि बनेको नेकपाको महासचिव बनेका पौडेल २०७८ मङ्सिरमा चितवनमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको हो ।

आफुमाथी हुने आलोचनालाई चुपचाप सहने र कम प्रतिक्रिया दिने पौडेल पार्टी भित्र र अरु राजनीतिक दलहरुका बीचमा पनि समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता भएको नेताको रुपमा चिनिनुहुन्छ । 

संसदीय यात्रा
२०५१ सालदेखि संसदीय यात्रा सुरु गर्नुभएका पौडेल ३० वर्षको अवधीमा प्रतिनिधिसभा सदस्य र संविधानसभा सदस्य गरि पाँचपटक निर्वाचित हुँदा एकपटक पराजित बन्नुभयो । पहिलो पटक २०५१ साल कार्तिकको संसदीय चुनावमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका पौडेल २०५६ साल जेठमा भएको संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानसँग करिब ६ सय मतान्तरले पराजित हुनुभयो ।  त्यसपछि भने उहाँले संसदीय यात्रामा पराजित हुनु परेको छैन।

निर्वाचनमा पराजित भएपनि मतदातासँग निरन्तर सम्पर्कमा रहेर काम गर्ने बानी पौडेलमा छ । उहाँ  २०६४ साल चैतमा पहिलो पटक भएको संविधानसभा चुनावमा सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । निर्वाचन क्षेत्र थपघट हुँदा २०५६ मा ३ नं. रहेको क्षेत्रलाई २०६४ मा ४ बनाईएको थियो।

२०७० साल मंसिरमा सम्पन्न दोश्रोपटकको संविधानसभा निर्वाचनमा पनि रुपन्देही क्षेत्र नं. ४ बाटै निर्वाचित हुनुभयो । 
क्षेत्र विभाजनमा २ नं. भएको सोहि क्षेत्रबाट २०७४ साल मंसिर र २०७९ साल मंसिरमा सम्पन्न प्रतिनिधीसभाका दुबै निर्वाचनमा पौडेल विजयी भएका हुनुभयो ।२०७० सालको संविधानसभा चुनावमा पुर्व प्रधानमन्त्री तथा तत्कालिन माओवादीका प्रभावशाली नेता बाबुराम भट्टराईलाई हराएपछि पौडेलको चर्चाले उचाई लिएको थियो।  

यस्तो छ :पौडेलको संक्षिप्त जिवनी

१.परिचय 
-नाम : विष्णुप्रसाद पौडेल
- जन्ममिति : २०१६ मङ्सिर १५ ÷ १९५९ डिसेम्बर १
- जन्मस्थान : स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका, वडा नं. १०, राङखोला, डिहिकुना ।
- ठेगाना :ललितपुर महानगरपालिका वडा नं. २५, सैवु आवास।

२. वर्तमान जिम्मेवारी
-उपाध्यक्ष, नेकपा (एमाले), केन्द्रीय कमिटीः
२०७८ मङ्सिर १०–१४ मा चितवनमा सम्पन्न को दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।  
- सदस्य, प्रतिनिधि सभा, संघीय संसद ः
२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।  

३. सरकारमा सहभागिता
 उप–प्रधानमन्त्री तथा अर्थमन्त्रीः
२०७९ पुष ११ देखि फागुन १५ सम्म ÷ २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म ।
 अर्थमन्त्रीः
२०७७ असोज २८ देखि २०७८ बैशाख ३१ सम्म ÷ २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म ।
 रक्षामन्त्री ः
२०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्म ।
 जलस्रोत मन्त्रीः
२०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म ।
 युवा, खेलकुद तथा संस्कृतिमन्त्रीः
२०५३ चैत १२ देखी २०५४ असोज १० सम्म ।

   जनप्रतिनिधिको भूमिका
 प्रतिनिधि सभा सदस्य 
२०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।
  प्रतिनिधि सभा सदस्य 
२०७४ मङ्सिर २१ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित ।
 संविधान सभा सदस्य 
२०७० मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित ।
 संविधान सभा सदस्य 
२०६४ चैत २८ मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित ।
 प्रतिनिधि सभा सदस्यपदको उम्मेदवार 
२०५६ जेठ ४मा सम्पन्न निर्वाचनमा रुपन्देही, निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवार ।
 प्रतिनिधि सभा सदस्य 
२०५१ कात्तिक २९ मा सम्पन्न निर्वाचनमा पाल्पा, निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित ।
 सभापती, अभिलेख अध्ययन तथा निक्र्यौल समिति 
२०७० मङ्सिर ४ मा निर्वाचित संविधान सभाद्वारा पहिलो संविधान सभाका कामहरुको अध्ययन तथा निक्र्यौल गरी निर्धारित समयमै प्रतिवेदन प्रस्तुत गरेको ।  

५. महत्वपूणर् राजनीतिक जिम्मेवारी
 उपाध्यक्ष, केन्द्रीय कमिटी, नेकपा (एमाले) 
२०७८ मङ्सिर १०–१४ माचितवनमा सम्पन्नदशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
 उपमहासचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) 
सर्वोच्च अदातलको फैसलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववतः अवस्थामा फर्किएपछि, २०७७ फागुन २३ देखि २०७८ मङ्सिर १४ सम्म ।
 महासचिव, केन्द्रीय कमिटी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) 
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीद्वारा निर्वाचित । २०७५ जेठ ३ देखि २०७७ फागुन २३ सम्म ।
 उपमहासचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः
२०७१ असार २५–साउन १ मा काठमाण्डौमा सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
 सचिव, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः
२०६५ फागुन ५–१४ मा बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।  
 वैकल्पिक सदस्य, स्थायी कमिटी, नेकपा (एमाले) ः
२०५९ माघ १८–२२ मा जनकपुरमा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित । केन्द्रीय कमिटीको प्रथम बैठकबाट स्थायी कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित ।  
 सदस्य, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः
२०५४ माघ १२–१८ मा नेपालगञ्जमा सम्पन्न छैटौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।  
 सदस्य, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः
२०४९ माघ १४–२० मा काठमाण्डौमा सम्पन्न पाचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ।
 सदस्य, केन्द्रीय कमिटी, नेकपा (एमाले) ः
२०४७ माघमा केन्द्रीय कमिटीद्वारा मनोनित ।
 सदस्य, राष्ट्रिय परिषद, नेकपा (एमाले) ः
नेकपा (माले) र नेकपा (माक्र्सवादी)को एकीकरणबाट नेकपा (एमाले) गठन भए संगै २०४७ पुस २२ मा केन्द्रीय कमिटीद्वारा मनोनित ।
 प्रतिनिधि, चौथो राष्ट्रिय महाधिवेशन, नेकपा (माले) 
२०४६ भदौं ९–१४ मा सिराहमा भूमिगत रुपमा आयोजना गरिएको चौथो राष्ट्रिय महाधिवेशनमा नवलपरासी जिल्लाको प्रतिनिधिको हैसियतमा सहभागी ।
 सदस्य, पश्चिम–दक्षिण क्षेत्रीय कमिटी (लुम्बिनी अञ्चल कार्यक्षेत्र), नेकपा (एमाले) 
२०४६ असोजमा पाल्पाको मदनपोखरामा सम्पन्न अधिवेशनबाट निर्वाचित ।

६. राजनीतिक यात्राको आरम्भ र विकासक्रम 
 २०३४ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी– लेनिनवादी) संग सम्र्पक । इलाका पार्टी सक्रिय दलमा संगठित ।
 २०३५ असोज ७ मा अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (माक्र्सवादी¬–लेनिनवादी) को सदस्यता प्राप्त ।
 २०३५ माघ देखि रुपन्देही जिल्ला अन्तर्गत नेपाल कम्युनिष्ट पार्टी(माले)को ईलाका कमिटी सदस्य ।
 २०३७ असोजमा नेपाल कम्युनिष्ट पार्टी (माले) को रुपन्देही जिल्ला कमिटीको सदस्य ।
 २०३७ मङ्सिर देखि २०४० कार्तिक सम्म नेपाल कम्युनिष्ट पार्टी (माले) पाल्पा जिल्ला कमिटी सदस्य ।
 २०४० मंसीर देखि २०४७ मंसीर सम्म फरक–फरक समयमा नेपाल कम्युनिष्ट पार्टी (माले) जिल्ला कमिटी अर्घाखाची, गुल्मी र नवलपरासीको सचिव र पश्चिम दक्षिण क्षेत्रीय कमिटी (साविक लुम्बिनी अञ्चल) को सदस्य ।
 २०३५ मंसीर ३ देखि २०४६ चैत्र २६ सम्म भूमिगत र २०३५ मंसीर ३ देखि हाल सम्म पूणर्कालिन राजनीतिककर्मिको भूमिकामा कृयाशील ।
 २०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि भूमिगत नामको प्रयोग ।
 २०४७ माघ देखि २०४९ माघसम्म नेपाल कम्युनिष्ट पार्टी (एमाले)को महाकाली अञ्चल ईन्चार्ज  । २०४९ देखि २०७३ सम्म विभिन्न समयमा करीव १० बर्ष लुम्बिनी अञ्चल ईञ्चार्ज ।
 २०५१ माघ देखि विभिन्न समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय संगठन विभागको सदस्य, सचिव र ६ कार्यकाल प्रमुख ।
 २०५३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उद्योग व्यवसाय विभागको प्रमुख । २०५५ असारमा स्थानीय निकाय विभागको प्रमुख । २०६६ असारमा संविधानसभा संसदीय विभागको प्रमुख ।
 २०५६ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालय सचिव ।
 २०६१ साउन र २०६९ असार देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय सचिवालय सचिव । विभिन्न समयमा केन्द्रीय सचिवालय सदस्य ।
 २०६६ असार ५ देखि पश्चिमाञ्चल विकास क्षेत्रमा पार्टी कामको अनुगमन ।
 २०७३ असौज ११ देखि नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश नंं. ५ को संगठन कमिटीको संयोजक ।

५. आन्दोलनमा भूमिका
 राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाको आन्दोलन, २०६२÷६३ मा महत्वपूणर् भूमिका  ।
 निरंकुश राजतन्त्र र पञ्चायती ब्यवस्था विरोधी संयुक्त जनआन्दोलन, २०४६÷४७मा नेपाल कम्युनिष्ट पार्टी (माले)को तर्फबाट नवलपरासी जिल्लामा मूख्य नेतृत्वकर्ताको भूमिका ।
 रुपन्देही जिल्लामा सञ्चालित निरंकुश राजतन्त्र तथा निर्दलीय पञ्चायती ब्यवस्था विरोधी जनआन्दोलन, २०३५÷३६ सालमा सक्रिय सहभागि ।
 २०३७असार १२ गतेभारताको नौतनवाबाट नेकपा (माले)का दस्तावेज देशभित्र भित्राउने क्रममा रुपन्देहीमा गिरफ्तार। राजकाज मुद्धा अन्तर्गत ३ बर्ष जेल र रु. ३ हजार जरिवानाको सजायँ । २०३७भदौ १ गतेविहान करीव ४.३० बजे भैरहवा जेल बिद्रोह गरेर पार्टीको सम्पर्कमा पुग्न सफल ।

  साभार : समयचक्र 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update