Hamroprayas
लुम्बिनी प्रदेशमा कार्यस्थलमा हुने घरेलु हिंसाको प्रभाव सम्बन्धी राष्ट्रिय सर्वेक्षण शुरु

बुटवल,असार ३१
नेपालमा कार्यस्थलहरुमा हुने घरेलु हिंसाको प्रभावसम्बन्धी राष्ट्रिय सर्वेक्षण लुम्बिनी प्रदेशमा सुरु भएको छ।यो सर्वेक्षण नेपालमा अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ९आइटीएफ० मा आबद्ध नेपालका तीन मजदुर संगठन इटवन, नेटवन युनिट्राभसँगको सहकार्य र सामाजिक संस्था उज्जल थापा फाउन्डेसनको समन्वयमा सर्वेक्षण सुरु गरिएको हो।

लुम्बिनी प्रदेश रुपन्देहीको बुटवलमा आईतबार एक कार्यक्रमको आयोजना गरी सर्वेक्षणको सुरुवात गरिएको छ। 
सर्वेक्षण सुभारम्भ गर्दै जिफण्ट लुम्बिनी प्रदेश महिला इन्चार्ज रन्जु भट्टराईले  सर्वेक्षणले कार्यथलोमा हुने गरेको हिंसा र विभेदबारे यथार्थ चित्रण बाहिर ल्याउन मद्दत पुग्ने बताउनुभयो । उहाँले यसको नतीजाले नीतिगतरुपमा सुझाव दिनसक्ने विश्वास ब्यक्त गर्नुभयो। 


त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुर गैरेले नेपालको श्रम क्षेत्रमा रहेका महिलाहरुबारे कार्यस्थल र घरेलु हिंसाको रुप पत्ता लगाउन राष्ट्रिय सर्वेक्षणले सहयोग पुग्ने बताउनुभयो । 

उहाँले यातायात क्षेत्रमा रहेका महिलाहरुको अवस्थाको तथ्याँक संकलन मार्फत निस्कने निष्कर्षबाट यस क्षेत्रमा महिला हिंसा न्यूनिकरणका लागि प्रेरणादायी नतीजा निकाल्न सकिने विश्वास व्यक्त गर्नुभयो । यो सर्वेक्षण विशेषगरी देशका सातवटै प्रदेशमा पुगेर अध्ययन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय सचिव तथा  नेपालका लागी सर्वेक्षणका संयोजक सरस्वती रिजालले बताउनुभयो । रिजालका अनुसार नेपालको सातवटै प्रदेशमा यो सर्वेक्षण लागु हुनेछ ।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका लुम्बिनी प्रदेश सचिव होम बहादुर क्षेत्री , संगठनका सचिवालय सदस्य मुक्तीप्रसाद भट्टराइ, बिभिन्न क्षेत्रमा काम गर्दै आउनुभएका महिला प्रतिनीधिहरुको सहभागिता रहेको कार्यक्रमको संचालन पत्रकार अस्मिना पाण्डेले गर्नुभएको थियो । 

२४ पेजको सर्वेक्षण फारममा ६८ वटा प्रश्न समाबेश गरिएको छ । तीन महिनाभित्र देशभर बिभिन्न क्षेत्रसंग सम्बन्धित बिशेषगरि अनौपचारिक क्षेत्रका महिला श्रमिकहरु माझ यो सर्वेक्षण गरिनेछ । यसभन्दा अगाडी भारतमा यो सर्वेक्षण सम्पन्न गरिएको छ । 

सर्वेक्षणले एक वर्षमा पूर्ण नतीजा दिने बताइएको छ । कार्यस्थलमा कार्यरत अधिकाँश अनौपचारिक क्षेत्रमा कार्यरत ५ हजार भन्दा बढी महिलाबीच यो सर्वेक्षण गरि सर्वेक्षणको नतिजा नेपाल सरकारलाई समेत बुझाउने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update