Hamroprayas
बुटवल बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा

बुटवल,साउन ३
बुटवलको नयाँ बसपार्कमा सुविधासम्पन्न स्नानगृह सञ्चालनमा आएको छ। नयाँ बसपार्कलाई सुविधासम्पन्न बनाउने बुटवल उपमहानगरपालिकाको योजनाअनुसार पहिलो चरणमा सुविधासम्पन्न बालमैत्री र अपांगमैत्री स्नानगृह सञ्चालनमा आएको हो।

स्नानगृहको बिहिबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे। उनले नयाँ बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने उदेश्यका साथ सुविधासम्पन्न स्नानगृह सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले बसपार्कमा हाइमास्ट लाइट, क्यान्टिन, चार्जिङ स्टेशन, कोशेली घर र बहुतले पार्किङ भवन निर्माण हुने बताउनुभयो । 

उहाँले बसपार्क सुरक्षित र सुविधासम्पन्न हुनुपर्ने भन्दै त्यसअनुसारका सुविधाहरु थप गर्दै लगेको बताउनुभयो । ’बसपार्कको सरसफाइ गर्ने र खाल्डाखुल्डी पुर्ने कामलाई हामीले छिटै नै अगाडि बढाउँछौं, उहाँले भन्नुभयो–बसपार्कलाई सफा राख्ने र सुरक्षित राख्ने काममा यहाँका समितिहरु पनि उत्तिकै सक्रिय हुन जरुरी छ।’ उहाँले सरसफाइमा नियमित रुपले खटिन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले बसपार्क सुधार गर्ने बुटवल उपमहानगरपालिकाको अभियान राम्रो भएको बताउनुभयो।  उहाँले बसपार्कलाई व्यवस्थित बनाउनका लागि आफुहरुको साथ रहने बताउनुभयो ।

बसपार्कमा निर्माण भएको स्नानघरमा ११ वटा शौचालय, १७ वटा युरिनल, ४ वटा बाथरुम तथा २ वटा बालमैत्री, २ वटा अपांगमैत्री शौचालय रहेका छन्। स्नानगृहमा मौसमअनुसार चिसोतातोपानीका लागि सोलार प्यानल जडान गरिएको र शौचालयको फोहोरबाट बायोग्यास उत्पादन गरी स्नानगृहको उपयोगमा ल्याउने गरी व्यवस्था मिलाइएको बुटवल उपमहानगरपालिकाका इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update