Hamroprayas
परिवर्तित कर तथा भन्सार नीति लगायतका बिषयमा अन्तरक्रिया

बुटवल, साउन ८

रुपन्देही व्यापार संघको आयोजनामा सोमवार पछिल्लो परिवर्तित कर तथा भन्सार नीति लगायतका बिषयमा सम्बन्धित कार्यालयहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान कार्यालय, भैरहवा भन्सार कार्यालय र भन्सार एजेन्ट संघका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 
संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीहरुले राज्यकातर्फबाट छोटोछोटो समयमा नै करका दर, नीतिहरु परिर्वतन गरिदा त्यसले असहजता आउने गरेको बताउदै दिर्घकालिन नीतिहरु तर्जुमा गर्न आग्रह गरेका थिए । 
उनीहरुले मुलुकमा औद्योगिक एवं व्यावसायिक वातावरण निर्माण गर्न तथा व्यापार सहजीकरणका लागि कुनै पनि नितिहरु बन्नु पर्नेमा लहडका हिसाबले बन्ने गरेको गुनासो गर्दै प्रशासनिक रुपमा झेल्नु परेका अप्ठयाराहरुलाई व्यवहारिक रुपमा समाधान गर्ने बाटो खोज्न सुझाएका थिए । 
पारदर्शी र असल अभ्यासको अभावले हाम्रा ऐन तर्जुमासंगै कार्यान्वयनमा पनि समस्याहरु देखिएको बताउदै सहभागीहरुले प्रशासनबाट अनावश्यक दुःख दिने गरेको, गलत काम गर्नेलाई दण्ड र इमानदारलाई पुरस्कारको व्यवस्था गर्ने कुरा राज्यबाट अवलम्बन हुन नसकेको बताएका थिए । उनीहरुले राज्यका अंगहरु उत्तदायीसंगै नीतिमा पारदर्शीता बनाइ व्यापारलाई सहज तथा सुरक्षित बनाउने कुरामा ध्यान दिन आग्रह पनि गरेका थिए । 

सो अवसरमा बोल्दै संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले व्यवसायीहरु राज्यका नीति र विधिलाई सधै पालना गर्ने समुह भएका कारण उनीहरुका समस्याप्रति राज्य गम्भिर बन्नु पर्ने बताउनु भयो । राज्यका धेरै नीति र करहरु व्यवसायीमैत्री बन्न नसकेको बताउदै पाण्डेले व्यवसायीहरुलाई जरिवाना र दण्ड गर्ने सोंच मात्र नराख्न आग्रह गर्नु भयो । कार्यक्रमको उद्देश्यमाथि प्रकास पार्दै संघका अध्यक्ष दिपक अधिकारीले मुलुकको अर्थतन्त्र चलायमान बनाउन राज्यका नीतिहरु व्यवसाय मैत्री बन्नु पर्ने र कार्यालयहरु जिम्मेवार हुनु पर्ने कुरामा जोड दिनु भयो । 

उहाँले राज्यका कर र नीतिमा देखिएका अस्थिरताले व्यवसायीहरुले सास्ती व्यहोर्नु परेको उल्लेख गर्दै राजश्व असुलीका नाममा सबै व्यवसायीलाई एउटै डालोमा हालेर हेर्ने सोंचमा परिर्वतन गर्न अनुरोध गर्नु भयो । 

संघका अध्यक्ष दिपक अधिकारीको अध्यक्षता, महासचिव फर्सुराम पन्थको सञ्चालनमा भएको कार्यक्रममा भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत इश्वर थापा, राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृत होम पाण्डे र आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृत कमल सुवेदीले आआफ्ना कार्यालयका विषयबस्तुहरु राख्नु भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update