Hamroprayas
गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि

बुटवल,साउन २२  
शिशुदेखि बृद्धसम्म होस या रोगीदेखि निरोगीसम्म पौष्ट्रिक तत्वको लागि दूधको सेवन गरिन्छ । तर यही दुधमा ब्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर बेच्ने गरेको पाईएको छ ।

सरकारले तोकेको गुणस्तर मापदण्ड भन्दा बिपरीत बुटवलको बजारमा दुध बिक्रि हुने गरेको खुलाशा भएको छ । सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५प्रतिशत,एस.एन.एफ. ८, गाईको दुधमा ३.५ प्रतिशत फ्याट , एस.एन.एफ.७  र मिक्स दुधमा ३.५ प्रतिशत फ्याट  एस.एन.एफ.को मात्रा ८ तोकेको छ । तर बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दुध विक्रि वितरण हुने गरेको पाईएको छ ।

बुटवल उपमहानगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितीमा गरेको अनुगमनमा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईएको हो। अनुगमन टोलीले बुटवलमा दुध सप्लार्यस गर्ने उद्योग, दूध वितरण गर्ने सहकारी  र डेरीका १० वटा नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको प्रयोगशालामा परीक्षण गरेको थियो ।

१० वटै नमुनाको  प्रयोगशालामा परिक्षण गर्दा नतिजा फेल आएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरिक्षक दीपक कुमार यादबले जानकारी दिनुभयो । दूधबाट फ्याटको मात्र झिकिएको वा पानि मिसाएर बेच्ने गरेको पाईएको उहाँले जानकारी दिनुभयो ।

दूधको गुणस्तरमा कमी आएको गुनाशो आउन थालेपछि बुटवल उपमहानगरपालिकाले पछिल्लो समय डेरीको अनुगमनलाई तिव्रता दिएको छ । बुटवलमा विक्रि वितरण हुने दुधको अवस्थाका विषयमा पहिले डेरी ब्यवसायलाई सचेत गराउँदै अनुगमन गर्ने र मापदण्ड भन्दा बिपरीत पाईए तत्काल कारबाही गर्ने  उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले जानकारी दिनुभयो ।

 ब्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा बिपरीत दूध बेचेको पाईए तत्काल कारबाही गरिने उहाँले बताउनु भयो । उपमहानगरपालिकाले मापदण्ड भन्दा बिपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको अर्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update