Hamroprayas
दुर्घटना न्यूनिकरण गर्न यातायात मजदुरहरुलाई प्रशिक्षण 

बुटवल, साउन २६

यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित, अनुशासित बनाउनुका साथै सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले यातायात मजदुरहरुलाई पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले तालिम प्रदान गरेको छ ।

हरेक महिना चालक तथा सहचालकहरुलाई प्रदान गरिंदैं आएको सो तालिमबाट दुर्घटना न्यूनिकरणमा टेवा पुग्नुका साथै यातायात मजदुरहरुको आत्मबिश्वास र आत्मसम्मान बढाउन समेत सघाउ पुराउने बिश्वास गरिएको छ । 

कुल २२ सय २ सदस्य रहेको पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले शुक्रबार आयोजना गरेको तालिममा सवारी दुर्घटना न्यूनिकरण र ब्यबस्थापनबारे लामो दुरीका तथा रात्री बसहरु चलाउने २ सय जना चालक तथा सह चालकहरुलाई तालिम प्रदान गरिएको थियो । शुक्रवार बुटवलमा आयोजित दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापन प्रशिक्षण कार्यक्रममा सहभागिहरुले मानविय लापरवाही सवारी दुर्घटनाको प्रमुख कारण रहेको भन्दै ट्राफिक शिक्षा आवश्यक रहेको बताएका छन् । 

पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक ट्राफिक प्रहरी निरिक्षक शोभा पाण्डेले सवारी दुर्घटनाका प्रमुख कारणहरुबारे अवगत गराउँदै न्यूनिकरणका उपायहरु बताउनु भयो । सवारी दुर्घटना हुने मुख्य तिन कारणहरु मानविय कारण, यान्त्रीक कारण र भौगोलिक कारणबारे प्रष्ट पार्दै निरिक्षक पाण्डेले प्रमुख कारण मानविय लापरवाही नै रहेकोले यसको न्यूनिकरणमा यातायात मजदुहरुको भुमिका महत्वपुर्ण हुने कुरामा जोड दिनुभएको थियो । 

 

यातायात मजदुरहरुलाई लक्षित गरि प्रदान गरिएको सो तालिममा सहभागिहरुलाई आत्मनिर्भर, स्वरोजगार र सभ्यता सम्पन्न बनाउने उद्देश्य रहेको दुर्घटना न्यूनिकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले बताउनु भयो । साथै सवारी धनीका साथै मजदुहरुको हकहित संरक्षण र आर्थिक सवलीकरणका लागि पनि नविनतम योजना संचालन गरिएको उल्लेख गर्दै संयोजक घिमिरेले चालकका परिवारहरुको पनि हित हुने निति तथा कार्यक्रमहरु अवलम्बन गरिएको जानकारी दिनु भएको छ । 

दुर्घटना न्यूनिकरण तथा सवारी ब्यबस्थापनका साथै मानविय सभ्यता कायम गर्ने हेतुले विगत लामो समयदेखि अभियान संचालन गर्दै आएको प्रा.लि.ले २०६६ सालदेखि निरन्तर रुपमा कार्यक्रमहरु संचालन गर्दै आएको छ । कार्यक्रममा अभियानका सहसंयोजक नारायण भण्डारी, नेपाल यातायात मजदुर संगठनका प्रदेश सदस्य मोहन केसी लगाएतले यातायात मजदुरहरुले सवारी चलाउदा ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो भने संचालकहरु गोपाल पौडेल, जितेन्द्र खत्री लगाएतले दुर्घटना न्यूनिकरणका उपायहरु बारे चर्चा गरेका थिए । 


 

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update