Hamroprayas
मन -मनमा मायाको बिरुवा रोप्दै राधिका

बुटवल,साउन २६  
तिलोत्तमा ४ मा रहेको श्रृङेश्वर मन्दिर । बाहिरबाट जति चिटिक्क देखिन्छ भित्र पनि उत्तिकै ब्यवस्थित हुदै गएको छ । यहाँ दिउँसोको समयमा ज्येष्ठ नागरिकहरु जम्मा हुन्छन् । एक अर्काका मनका कुरा गर्छन् । आजभोलि यहाँ बिभिन्न गितका सुटिङ हुन्छन् । कहिले बिभिन्न संघ सस्थाका कार्यक्रमहरु.............................. 

हो ,शुक्रबार यहाँ एउटा फरक प्रकृतिको कार्यक्रम आयोजना गरियो। कार्यक्रम गर्ने हलभित्र छिर्ने ढोकामा गमलामा सजाईएका फुलका बिरुवाहरु छन् । फुलका बिरुवा सहित सजाईएका गमलामा इनरव्हिलको लोगो ब्राण्डिङ गरिएको छ । कार्यक्रममा आउनेहरुलाई तिनै सजाईएका फुलहरुले स्वागत गरिरहेका छन् ।

त्यहाँ राखिएका फुलका बिरुवाहरु मन्दिर परिसरमा रोपण गर्न राखिएको होला भन्ने अनुमान गर्नुभएको छ ,भने तपाँईको अनुमान मिल्न सकेन । यसरी सजाएर राखिएका फुलका बिरुवाहरु क्लबमा आवद्धभएका सदस्यहरु र अतिथिको मन-मनमा रोप्नका लागि तयार गरिएको हो । 

इनरह्वील क्लव अफ मिडटाउन बुटवल वर्ष २४÷२५ का नव निर्वाचित अध्यक्ष राधिका रिजालले पदभार ग्रहण लगत्तै आफुले सबैको मनमनमा मायाको बिरुवा रोप्ने उद्घोष गर्दा यो के भनेको होला भन्ने अनुमान गरेका सदस्यहरु नै कार्यक्रममा सहभागी थिए ।

रिजालको कार्यकालको पहिलो कार्यक्रम मनमा मायाको बिरुवा रोप्ने , मन्दिर परिसरमा बृक्षरोपण गर्ने ,उमेर पुगेका आमाबुवाहरुलाई खाना खुवाउने र धन्यवाद कार्यक्रम शुक्रबार एकैदिन सम्पन्न भएका हुन्।

कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले अहिलेको समाजमा , माया, प्रेम, बिश्वास, सहयोगी भावनाको कमीहुदै गएको महसुस गरेर भावनात्मक सम्बन्धलाई बलियो बनाउन इनरव्हिल क्बल अफ मिडटाउनलाई जन्म दिएको क्लब इनरव्हिल क्लब अफ बुटवलका सदस्य र इनरव्हिल क्लब अफ मिडटाउनले जन्माएको क्लब इनरव्हिल क्लब अफ तिलोत्तमाका सदस्य र अन्य सदस्यहरुलाई मायाको बिरुवा प्रदान गरिएको बताउनुभयो । 

मायाको बिरुवा उपहारको रुपमा प्रदान गर्दै रिजालले जसरी यो बिरुवाको संरक्षण गरिन्छ ,त्यसैगरि क्लब र साथित्वको भावनाको पनि संरक्षण गर्न र सुरक्षा गर्न आग्रह गर्नुभयो । ७० वटा मायाको विरुवाहरु भने अध्यक्ष रिजालले नै सौजन्य  गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक ३५० नेपालका डिष्ट्रिक चियरमेन आशा श्रेष्ठले नाग पञ्चमीको पवित्र दिनमा ज्येष्ठ नागरिकको सम्मानस्वरूप र क्लबका सबै सदस्यहरुको सम्झना गरेर कार्यक्रम आयोजना गरेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

ज्येष्ठ नागरिक मिलन केन्द्रका अध्यक्ष यदुनाथ पाण्डेले ज्येष्ठ नागरिकप्रति सम्मान गर्दै मिडटाउन बुटवलले यसरी कार्यक्रम गरेकोमा आभार व्यक्त गर्नुभयो ।  उहाँले दिउँसोको समयमा घरमा एक्लै भएका ज्येष्ठ नागरिकहरूको मन बिसाउन केन्द्र निर्माण गरिएको बताउनुभयो।

लुम्बिनी डेरीको तर्फबाट दुधको सौजन्य गरिएको कार्यक्रममा मन्दिर परिसरमा रोपिएका एभोगाडो, अम्बा,सिसौ,आँप लगायतका बिरुवाहरु कार्यक्रमका संयोजक तथा पूर्व अध्यक्ष सरला भण्डारीले सौजन्य गर्नुभएको थियो । भण्डारीले स्वागत मन्तब्य राख्दै आफनै क्लबले आयोजना गरेको पबित्र कार्यक्रममा बिरुवाहरु उपलब्ध गराउन पाउँदा आफुलाई सधै सामाजिक काम प्रति गौरव लाग्ने बताउनुभयो । 

कार्यक्रममा इनरह्वील क्लव अफ बुटवल वर्ष २०२४-२५ का अध्यक्ष सम्झना ज्ञवाली ,क्लबका पुर्ब अध्यक्षहरु,संस्थापक सल्लाहकार ओमी पुन लगायत सदस्यहरुको सहभागिता रहेको थियो । 

क्लवका सचिव सुशीला पोखरेलले इनरव्हिलको थिममा रहेर आयोजना गरिएका कार्यक्रममा सबैको उत्साहजनक सहभागिता रहेको बताउनुभयो ।कार्यक्रममा ज्येष्ठ नागरिक मिलन केन्द्रमा १५० जना भन्दा बढीलाई भोजन गराईएको थियो । । स्वार्थभन्दा माथि सेवाभाव भन्ने उदेश्यले १६ बर्ष अगाडी स्थापना भएको क्लबले विभिन्न सामाजिक कामहरू गर्दै आएको  छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१  २२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update