Hamroprayas
सडक सचेतना र सुरक्षामा सबै नागरिक एकजुट हुन आवश्यक  

बुटवल, कात्तिक १९

संयुक्त राष्ट्र संघले घोषणा गरेको नोभेम्बर महिनाको तेस्रो आइतबार ‘सडक दुर्घटनाबाट मृत्यु भएकाहरुको स्मृति दिवस’ रुपन्देहीमा विविध कार्यक्रम गरी मनाईने भएको छ ।
सुरक्षित यात्रा अभियान नेपाल, मिडिया एक्सन फर रोड सेफ्टी र रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२, रिजन ५ को संयुक्त आयोजनामा रुपन्देहीमा सचेतनामूलक अभिमुखीकरण, स्कुटी रयाली र मैनबत्ती प्रज्जवलन गरी सप्ताहब्यापी कार्यक्रम गरी मनाउने भएको हो ।
आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले सडक दुर्घटनाका कारण ज्यान गुमाएकाहरुको सम्झना र उक्त दुर्घटनाका कारण आफन्तले भोग्नुपरेको भावनात्मक तथा ब्यवहारिक परिणामको दुर्दशालाई न्युनीकरण गर्न सहयोग पुग्ने गरी विश्वभर नै नोभेम्बर तेस्रो आइतबार दिवस मनाईदै आएको बताउनुभयो । रुपन्देहीमा विभिन्न सरोकारवाला संस्थाहरुको सहकार्यमा सुरक्षित यात्रा अभियान नेपाल र मिडिया एक्सन फर रोड सेफ्टीबाट विगत लामो समयदेखि सचेतना, अभिमुखीकरणका कार्यक्रम संचालन गरेको उहाँले बताउनुभयो । 

मंसिर २ गते अनुशिक्षण तथा मंसिर ३ गते सडक दुर्घटनाहरुमा मृत्यु हुनेहरुको स्मृतिमा योगीकुटीबाट मणिग्राम र फेरि योगीकुटीसम्म सचेतनामूलक स्कुटी र्याली र साँझ दीप प्रज्जवलन कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।  । कार्यक्रममा सहभागी २ सय जना स्कुटी चालकलाई टिसर्ट र २५ जनालाई लक्की ड्र को आधारमा हेल्मेट वितरण गरिने छ  भने क्विज मार्फत १० जनालाई हेल्मेट वितरण गरिने छ  । 

यो वर्ष बढीभन्दा बढी महिला स्कुटर चालक लक्षित गरी सडक सुरक्षाको विषयमा अनुशिक्षण, विद्यार्थीहरुलाई सुरक्षित सडक प्रयोगबारे अनुशिक्षण, सचेतनामुलक स्कुटर र्याली तथा पाँच सय बढी सरोकारवालाहरुको सहभागितामा मैनबत्ती प्रज्जवलन कार्यक्रम गर्ने पाण्डेको भनाई छ । 

 

कार्यक्रममा मिडिया एक्सन फर रोड सेफ्टीका संयोजक स्वस्तिक श्रेष्ठले सडक सुरक्षा, यात्रु सुरक्षा, सचेतनासंग जोडेर अभियान चलाउने उद्देश्यका साथ वि.सं २०६६ सालमा स्थापना भएर निरन्तर कार्यक्रम गर्दै आएको बताउनुभयो  । दुर्घटनाको हिसाबमा लुम्बिनी प्रदेशमा प्रत्येक वर्ष साढे पाँचसय बढीले मृत्युवरण गरेको तथ्यांकमा देखिएको भन्दै यस विषयमा सरोकारवाला निकायको जागरुकता आवश्यक रहेको उहाँले बताउनुभयो ।

बिभिन्न रोटरी क्लबका अध्यक्ष र पत्रकारको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सचिब डिबी सुस्लिङ्गले गर्नुभएको थियो । 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update