Hamroprayas
भलाई कोष र सिद्धार्थ उद्योग बाणिज्य संघबिच सम्झौता

बुटवल, साउन ३० 
यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवल र सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाबिच द्विपक्षीय सम्झौता भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका निजी तथा सार्वजनिक सवारी साधनहरु भलाई कोषमा आवद्ध गराउने गरी द्विपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा दुवै संस्थाका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघले आफ्ना व्यवसायीका सवारी साधन कोषमा दर्ता भएर सञ्चालन गर्ने सम्झौता गरेको यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिनुभयो  ।

सम्झौतामा निजी तथा भाडामा चल्ने सवारी साधनका अतिरिक्त सिद्धार्थ उद्योग बाणिज्य संघमा आवद्ध व्यवसायीका मोटरसाईकल तथा स्कुटरहरु समेत कोषमा नियमानुसार शुल्क बुझाई आवद्ध गर्ने उल्लेख छ । सम्झौतामा २०८१ कात्तिक ३० सम्म कोषले आवद्धता निःशुल्क गरिदिने उल्लेख छ ।

त्यसैगरी कोषमा मासिक शुल्क बुझाउने व्यवसायीलाई २०० रुपियाँ छुट प्रदान गर्ने गरी सम्झौता भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।त्यस्तै सवारी साधन बाटोमा दुर्घटना भई जीवित क्षति तथा तेस्रो पक्षको निर्जिव क्षतिको सम्पूर्ण लगानी कोषले गर्ने छ । 

आफ्नो गाडीको व्यापक बीमा भएको अवस्थामा दुर्घटनाको कारण क्षति भएमा लागेको खर्चमा कोषले ५० प्रतिशत व्यहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै दुर्घटना भई चालकलाई हिरासतमुक्त गर्दा लाग्ने खर्च पनि भलाई कोषले व्यहोर्ने छ ।त्यस्तै मोटरसाईकल र स्कूटर दुर्घटना हुँदा २ जनासम्मको उपचार खर्च रकम १५ लाख रुपियाँ कोषले लगानी गर्ने सम्झौता पनि भएको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update