पाल्पा,भदौ ११
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रपती रामचन्द्र पौडेललाई पाल्पामा न्यानो स्वागत गर्नु भएको छ। पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथ जात्रा अवलोकन गर्न मंगलबार यहाँ आउनु भएका राष्ट्रपती पौडेललाई मुख्यमन्त्री आचार्यले स्वागत गर्नु भएको हो । राष्ट्रपतीलाई जनस्तरबाट समेत भब्य स्वागत गरिएको छ । यस्तै जात्रामा सहभागी हुन आउनु भएका संस्कृति तथा पर्यटनमन्त्री बद्री पाण्डे, रक्षा मन्त्री मान वीर राइलाइ समेत स्वागत गरिएको छ ।
तानसेन स्थित ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा हरेक वर्ष भगवती रथ यात्राहुने गरेको छ । लुम्बिनी प्रदेश सरकारले भगवती यात्राको दिन पाल्पा जिल्लामा यस बर्ष सार्वजनिक विदा समेत दिएको छ । नेपालले अ्रग्रेजलाई युद्धमा पराजित गरी बिजय हासिल गरेको खुसीयालीमा हरेक बर्ष कृष्ण जन्माष्टमीको अर्को दिन धुमधामका साथ बिजय उत्सव स्वरुप रणउजीरेश्वरी भगवतीको रथ जात्रा निकाल्ने प्रचलन रहदै आएको छ ।
विश्वको भु–भागलाई आफ्नो मुठ्ठीमा कब्जा गरेको ब्रिटिश सम्राज्यवाद लाई समेत नेपालले पराजित गरेको सम्झनामा पाल्पामा बिजय उत्सव स्वरुप सो जात्रा निकालिदै आएको छ । तत्कालीन समयमा नेपाली सेनाले चलाएको उक्त विजयी जात्रा हालसम्म आइपुग्दा पाल्पाको सबैभन्दा ठुलो पर्व र जात्राको रुपमा परिचित छ । कर्णेल उजीर सिंह थापाले वि.सं. १८७६ मा निर्माण गरेको रथ लाई नै हाल सम्म विजय जात्राको रुपमा संचालन गरिदै आइएको छ ।