Hamroprayas
दलित समुदायमाथि अझैपनि भेदभाव र छुवाछुत हुनु बिडम्बना हो - प्रदेश प्रमुख शेरचन 

बुटवल,कात्तिक १९
राष्ट्रिय दलित आयोगले आईतबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनलाई आर्थिक वर्ष २०७९ ÷ ०८० को वार्षिक प्रतिवेदन बुझाएको छ ।  आयोगका अध्यक्ष देवराज विश्वकर्माले संविधान अनुसार प्रदेश प्रमुख शेरचनलाई तेस्रो वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । 

प्रतिवेदन ग्रहण गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले दलित समुदायमाथि अझैपनि भेदभाव र छुवाछुत हुँदै आएको बताउनुभयो । उहाँले मानिसहरुको व्यवहार परिवर्तन हुन नसक्नु विडम्बना भएको बताउनुभयो । प्रमुख शेरचनले मधेशी दलितहरुको अवस्था झनै कहालीलाग्दो रहेकाले आयोगले त्यस्ता समुदायको पक्षमा काम गर्न सक्नुपर्ने सुझाव दिनुभयो । 

कुनै पनि धर्मशास्त्रमा जातका आधारमा भेदभाव र छुवाछुत गर्ने भनेर प्रमाणित रुपमा उल्लेख नगरिएको र अहिले संविधानमै छुवाछुत गर्न नपाउने व्यवस्था स्पष्ट गरेको उहाँको भनाई थियो ।  । ‘दलित समुदायले कुँदेको ढुंगालाई पुज्ने, तर त्यही व्यक्तिलाई पूजा गर्न नदिने सोंच कतिसम्म अमानवीय हो’ प्रदेश प्रमुख शेरचनले भन्नुभयो । शेरचनले लुम्बिनी प्रदेश सरकारलाई दलित समुदायको उत्थान र सशक्तिकरणका लागि अर्को वर्षसम्म नीतिगत व्यवस्थाका लागि निर्देशन दिने आश्वासन दिनुभयो । 

प्रतिवेदन पेश गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अझै पनि दलित समुदायमाथि छुवाछुत र भेदभाव भइरहेकाले प्रदेश सरकारले नीतिगत रुपमा समुदायको उत्थान र विकास गर्न आग्रह गर्नुभयो ।  उहाँले आयोगका तर्फबाट विभिन्न क्षेत्रमा भएका घटनाहरुको स्थलगत अध्ययन गर्ने गरेको, जातीय थरहरुको सूचीकृत जस्ता कामहरु गरेको बताउनुभयो । आर्थिक वर्ष २०७९ ÷ ०८० मा दलित हक अधिकार हनन ४, जातीय छुवाछुत र भेदभाव, गालीगलौज तथा कुटपिट ३६, अन्तरजातीय प्रेम तथा विवाह ४, हत्या तथा मृत्यु ३, अन्य ८ गरी एक वर्षमा ५५ वटा उजुरी परेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update