बुटवल,भदौ १९
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान राम्रो भएपनि संविधानपछि बनेका कतिपय पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या भएको बताउनुभएको छ । पुरुषमा आफू सधै केन्द्रमा रहनुपर्ने शासकीय मनोवृति हावी हुदाँ पनि महिलाहरु नेतृत्वमा आउन समस्या परेको उनले दावी गर्नुभयो ।
मिडिया एड्भकेसी ग्रुपले बुटवलमा बुधबार आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा बोल्दै सभामुख घर्तीले अब राजनीतिसंगै हरेक संघसस्था र संगठनमा महिला आउन आट र हिम्मत बढाउनुपर्ने बताउनुभयो ।
महिला प्रमुख पद आउनु पर्छ भनी अरुलाई झक्झकाउने पत्रकारका संघसस्था र संगठनमै महिला नेतृत्वमा नहुनु दुखद रहेको उहाँले बताउनुभयो । उहाँले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन पत्रकार पुरुषहरुले विश्वासको वातावरण बनाउन र सघाउन पनि आग्रह गर्नुभयो । रिपोटिङको सन्दर्भमा राजनीतिक रिपोटिङ गर्ने पत्रकार महिला कम भएपनि विषयवस्तु र प्रस्तुतीको क्षमतामा अब्बल रहेको बताउनुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले राजनीति देशको मूलनीति भएकाले आफू स्थापित हुन पत्रकार महिलाहरुले पनि राजनीतिक रिपोटिड।लाई बढाउनु पर्ने बताउनुभयो । उहाँले राजनीतिकर्मी पुरुषको तुलनामा राजनीतिकर्मी महिलाको विषय वा महिलाले गरेका विषयलाई संचारमाध्ययमले कम प्राथमिकतामा राखेको बताउदै यस्तो भेदभाव नगर्न आग्रह गर्नुभयो । पत्रकार महिलाहरुले राजनीतिक विटलाई बढाउदै सम्पादक हुने र आफ्ना संघसस्थाको केन्द्रीय पदमा पुग्नेमा लागिरहन सुझाब दिनुभयो ।
कार्यशालाका प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष डा. महेन्द्र विष्टले राजनीतिक रिपोटिङले पत्रकारितामा प्रभाव बढाउन र समाजमा स्थापित हुन सघाउने बताउनुभयो । उहाँले राजनीति देशको मूलनीति भएकाले विशेष अध्ययन र सीप सिकेर मात्रै यस्ता विषय लेख्न पत्रकार महिलाहरुलाई सुझाब दिनुभयो ।
मिडिया एडभोकेसी ग्रुपका सस्थापक अध्यक्ष बबिता बस्नेतले राजनीतिक रिपोटिङ गर्ने पत्रकार महिला कम भएको अवस्थामा त्यसबीटमा काम गर्ने संख्या र क्षमता बढाउन कार्यशाला आयोजना गरेको बताउनुभयो । बस्नेतले सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा नियमित रिपोटिङ गर्ने पत्रकार महिला केही सीप सिके राजनीतिक रिपोटिङमा पनि अब्बल हुनसक्ने बताउनुभयो ।
कार्यशाला उद्घाटनमा बोल्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले आफ्नो पत्रकारितामा उचाइ थप्न, समाज र देशलाई झक्झकाउने बनाउन अन्य विषयसंगै राजनीतिक रिपोटिड. बढाउनुपर्ने बताउनुभयो । उहाँले पत्रकार महिलाले राजनीतिक रिपोटिड. गर्न सक्दैनन् भन्ने धेरै भएका बेला त्यसलाई गलत सावित गर्न सीप र क्षमता बढाउन आग्रह गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष तथा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारिता व्यवसाय जोखीममा परेको बताउदै आफ्नो पेसा कायम राख्न र नेतृत्वमा पुग्न पत्रकार महिलाले थप क्षमता बढाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसी, सभामुखका प्रेस संयोजक रुद्रहरी कँुवर, बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवाली लगायतले राजनीतिक रिपोटिड.बारेमा सुझाब दिएका थिए ।
क्यानेडियन राजदुतावासको सहकार्यमा मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्त, नवलपरासी पश्चिम र पाल्पाका २० जनाको सहभागिता रहेको थियो । कार्यशालामा डा. महेन्द्र विष्ट र बबिता बस्नेतले सहजीकरण गर्नुभएको थियो ।