Hamroprayas
पेशालाई समयसंगै आधुनिकीकरण गर्न सक्नुपर्छ - नगर प्रमुख पाण्डेय

बुटवल, भदौ २४

राष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीको तेस्रो अधिवेशन तथा वार्षिक साधारणसभा सोमबार बुटवलमा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । संघका रुपन्देही जिल्ला अध्यक्ष टंक सुनारको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले जातीय पहिचानको पेशा पछाडि परेर युवाहरु बेरोजगार भएको बताउँदै पेशा संरक्षण हुन आवश्यक रहेको बताउनुभयो  । उहाँले पेशालाई समयसंगै आधुनिकीकरण गर्न सक्नुपर्ने बताउँदै विसे नगर्चीको योगदानको बारेमा चर्चा गर्नुभएको थियो  । उहाँले उपमहानगरपालिकाले रोजगारसंग प्रत्यक्ष सरोकार राख्ने किसिमका विभिन्न तालीमहरु प्रदान गरेको बताउनुभयो  ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट जातीय विभेद अन्त्य र दलित आन्दोलनमा महत्वपूर्ण योगदान दिएको भनी संघका केन्द्रीय उपाध्यक्ष विनोद परियारलाई उत्कृष्ट पत्रकारिता पुस्स्कार प्रदान गरिएको छ । परियारलाई विसे नगर्ची फाउण्डेशन नेपालका अध्यक्ष रामकुमार रणपालको सौजन्यमा नगद रु ५ हजार राशीसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तैगरी संघकै केन्द्रीय सदस्य फुलु सुनारलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । सुनारलाई  ओम पाल्पाली सुनचाँदी पसलका प्रोप्राइटर, सफल व्यवसायी तथा समाजसेवी शेर बहादुर गहतराजको सौजन्यमा नगद रु ५ हजार राशीसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय समाचार समितिका पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ पत्रकार अधिवक्ता  डा. बालकृष्ण चापागाईंले बोल्दै २१ औं शताब्दीमा पनि जातीय विभेद हुनु अत्यन्तै दुःखद भएको बताउनुभयो । उहाँले यसको अन्त्य र समतामुलक समाज निर्माणका लागि  आफू सधै लागिरहेको बताउनुभयो  ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले बोल्दै रुपन्देहीमा दलित पत्रकारहरुको संख्या तुलनात्मकरुपमा धेरै भएपनि गुणात्मक रुपमा अगाडि बढ्नु पर्ने बताउनुभयो । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सल्लाहकार गोविन्द खनालले बोल्दै दलित अधिकार नै मानव अधिकार भएको बताउनुभयो  । 

तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य सुरेन्द्रश्रीले बोल्दै दलित भनेको हेपिएको र च्यापिएको समुदाय भएकोले यसको उत्थान र संरक्षणका लागि दलित पत्रकारहरुले सञ्चारमाध्यमबाट विशेष जोड दिनुपर्ने बताउनुभयो  ।
 उहाँले समानुपातिक कोटामा बढी मात्रामा दलित समुदायभन्दा पनि गैरदलितहरु भएको भन्दै राज्यका हरेक निकायमा दलितको उपस्थिती न्यून रहेको बताउनुभयो  ।

त्यस्तैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष विनोद परियारले बोल्दै रुपन्देही शाखाले सम्मान गरेकोमा खुसी व्यक्त गर्दै पुरस्कार सौजन्य गर्ने विसे नगर्ची फाउण्डेशनलाई  धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आफूले प्राप्त गरेको पुरस्कार राशी संघकै रुपन्देही शाखाको संस्थागत विकासका लागि प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, केन्द्रीय सदस्य चिन्ता परियार, संयुक्त दलित संघर्ष समितिका अध्यक्ष हरिओम विश्वकर्मा, विसे नगर्ची फाउण्डेशन नेपालका अध्यक्ष रामकुमार रणपाल,  प्रेस सेन्टर नेपाल रुपन्देहीका अध्यक्ष विष्णु प्रसाद पोखरेल, प्रेस युनियन रुपन्देहीका उपाध्यक्ष कल्पना तिवारी, आदिवासी जनजाति पत्रकार संघ रुपन्देहीका अध्यक्ष सोनु थापालगायतले बोल्दै दलित पत्रकारहरुको हक अधिकार र संरक्षणका लागि सधै सहकार्य गर्ने बताउनुभयो  ।

कार्यक्रममा अध्यक्ष टक सुनारले संस्थाको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण रणपालले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । संघका उपाध्यक्ष शशी परियारको स्वागत मन्तव्यमा भएको कार्यक्रममा सचिव सुरेश परियारले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।


 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update