Hamroprayas
सैनामैना व्यापार संघले मनायो ११ औं स्थापना दिवस

सैनामैना, भदौ २५
सैनामैना व्यापार संघले एघारौं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । संघको कार्यालय परिसरमा एक संक्षिप्त समारोहबीच संघले भदौ २३ गते स्थापना  दिवस मनाएको हो ।संघका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको स्थापना दिवस समारोहको उद्घाटन गर्दै संघका संरक्षक मीन प्रसाद पौडेलले आर्थिक चलायमान बनाउन संघको क्रियाशीलताको खाँचो रहेको बताउनुभयो । 

उहाँले विद्यमान आर्थिक संकुचन र मन्दीको अवस्थामा राज्यले साना तथा मझौला उद्यमी तथा व्यवसायीहरुलाई लक्षित गरेर राहतका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजस्व संकलनका क्षेत्रका रुपमा रहेका यस्ता संघ संस्थालाई तीनै तहका सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्ष दुर्गा गौतम, जीवनाथ पाण्डे, वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदी, महासचिव भीम सुवेदी, तीनाउ पश्चिम डिलर एसोसिएसनका नरेश न्यौपानेलगायतले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । 

२०७१ साल भदौ २३ गते सैनामैनाका व्यवसायीहरूको साझा संस्थाका रुपमा व्यापार संघको स्थापना भएको थियो । संघमा हाल करिब एक हजार सदस्य आबद्ध रहेको संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । 
संघले यसक्षेत्रका व्यवसायी, उद्यमी, व्यापारीलगायतका पेशागत र व्यवसायिक हकहितका पक्षमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । 

हालै यसक्षेत्रका उद्यमी, व्यवसायी तथा व्यापारीहरुलाई एकै ठाउँमा भेला गरेर कर, राजस्वका विभित्र प्रावधानका बारेमा प्रशिक्षण समेत सञ्चालन गरेको थियो । 
स्थापना दिवसका अवसरमा संघको कार्यालय परिसरमा दीप प्रज्वलन समेत गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update