Hamroprayas
रुपन्देहीको तिलोत्तमामा असोज १ र २ गते नेपाल सर्प महोत्सव

बुटवल,असोज १
रुपन्देहीको तिलोत्तमामा नेपाल सर्प महोत्सव हुदैछ । आगामी असोज १ र २ गते तिलोत्तमा स्थित शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रमा सर्प महोत्सव हुन लागेको हो । मानव र सर्प बीच सह अस्तित्व प्रबद्र्धन भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको सर्प विज्ञ कमल देवकोटाले जानकारी दिनुभयो ।

२ दिने सम्म चल्ने महोत्सव सर्पको अवलोकन, मानव सर्प द्वन्द्व न्यूनिकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्वमा केन्द्रीत हुने देवकोटाले जानकारी दिनुभयो ।महोत्सवमा फोटो प्रदर्शनी, डकुमेन्ट्री प्रदर्शन, विभिन्न सचेतनाका स्टल, सर्प संग्रालय नमुनाको प्रदर्शन, सांस्कृतिक नृत्य प्रदर्शन, कला प्रदर्शनी, सर्प समाउने र उद्धार गर्ने तरिकाको प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा गोमन र करेत दुई विषालु सर्प प्रदर्शनीमा राखिनेछ भने पाईथन र धामन अविषालु सर्प पनि महोत्सवमा प्रदर्शनमा राखिनेछ । महोत्सवको स्थानिय आयोजना शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्र रहेको छ । तिलोत्तमा नगरपालिका, डिभिजन बन कार्यालयको सहयोगमा हुने महोत्सवको सवै तयारी पूरा भएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेल प्रसाद शर्माले बताउनुभयो ।

केन्द्रका उपाध्यक्ष खिमलाल पाण्डेले सर्पबाट बच्च र सर्पलाई बचाउने दुवै उद्देश्यले महोत्सवको आयोजना गरिएकोे बताउनुभयो ।महोत्सवको अवलोकन गर्न सम्पुर्ण नागरिकहरुलाई आयोजकले अनुरोध गरेको छ। 
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update