Hamroprayas
पूर्वखोला पाल्पामा शैक्षिक सुधारका लागि त्रिपक्षीय छलफल 

बुटवल,असोज २
मातृभूमि माध्यमिक विद्यालय पूर्वखोला ४ देवीनगरले शैक्षिक सुधारको लागि विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघका पदाधिकारी र शिक्षककाबीच शैक्षिक अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न गरेको छ।

विद्यालय व्यवस्थापन समिति , शिक्षक अभिभावक संघको समुह, मावि तहका शिक्षक , आधारभूत तहका शिक्षक र प्रावि तह अंग्रेजी माध्यमका शिक्षककाबीच छुट्टाछुट्टै छलफल गरि १९ वटा बूँदा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।विद्यार्थी केन्द्रित शिक्षण गर्ने,नियमित गृहकार्य गर्न लगाउने र चेक गर्ने,प्रविधिमैत्री शिक्षण गर्ने, सकारात्मक सोचको विकास गर्ने,अभिभावकसहित नतिजा विश्लेषण तथा समीक्षा  गर्ने,मिनि होस्टेललाई निरन्तरता दिने र चमेना गृहको व्यवस्थापन गर्ने छलफलबाट टुङ्गो लागेको छ ।

त्यसैगरी अभिभावक शिक्षा संचालन गर्ने,विशेष अवस्थाका विद्यार्थीलाई विशेष कक्षा  सञ्चालन गर्ने,सरोकारवालाले नियमित अनुगमन गर्ने, विद्यालय घेराबार तथा गेटको व्यवस्था गर्ने,प्रअसँग करार सम्झौता ६ महिनाको गर्ने,शिक्षक–विद्यार्थी अनिवार्य पोशाक लाउने,अतिरिक्त गृहकार्य नियमित सञ्चालन गर्ने, शिक्षकका बीच सहकार्य गर्ने र त्रिपक्षीय छलफल नियमित गर्ने निर्णय भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि पूर्वखोला गाउँपालिकाका प्रवक्ता मेहरसिं थापाले शैक्षिक सुधारको लागि त्रिपक्षीय छलफलबाट तयार गरेका विषयवस्तुलाई आ–आफ्नो क्षेत्रबाट कडाइकासाथ पालना गरे छिट्टै शैक्षिक अवस्थाको नतिजा सुधार हुनेभन्दै “म बनाउँछु मेरो विद्यालय, मैले पूरा गर्छु मेरो कर्तव्यलाई“ प्रतिवद्वता पूरा गर्न अनुरोध गर्नुभयो।

कार्यपालिका सदस्य रेवतीसरा घर्तिमगर, पूर्वखोला गाउँ शिक्षा समिति सदस्य भुवन सिंजाली, शिक्षक अभिभावक संघका अध्यक्ष हुमबहादुर सिंजालीले शैक्षिक सुधारको बारेमा बोल्दै आ–आफ्नो कर्तव्य पूरा गर्न प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर मश्राङ्गीको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update