बुटवल,कार्तिक २०
शिल्पाकाे सम्झनामा उनका बाबाले एउटा कविता समर्पण गरेका छन् "साला पहाडमें क्या है " कवितासङ्ग्रहमा । शिल्पा छाेरी हुन् कविका । कविले कवितामा भावुक हुँदै लेखेका छन् - भित्तामा तिम्राे बाल्यकालमा खिचिएकाे त्यही तस्बिर झुन्डिएको छ यथावत् जसमा तिमी मेराे काँधमाथि चढेर आकाश छुन खाेजेकी थियाै सायद तिमी त्यही आकाशमा गयाै मलाई त्याे आकाशसँग जलन हुन्छ त्याे स्वर्गसँग जलन हुन्छ त्याे परलाेकसँग जलन हुन्छ भनिएकाे छ,जहाँ तिमी गएकी छ्याै के तिमी मलाई देख्न सक्छ्याै ,शिल्पा ?
अभिभावकले आफ्ना सन्तान गुमाउनुकाे पीडाकाे बिम्ब हाे याे कविता हाे । पिर,व्यथालाई अक्षरमा उनेका छन् । शब्दमा बुनेका छन् । लहरमा उतारेका छन् तरपनि पिर बिसाउन सकेका छैनन् कविले । भूतले तर्साई रहेकाे छ । विगतमा छाेरीसँग खेल्दै गरेका स्मृतिले कविलाई भावविह्ल बनाएकाे छ । काँधमाथि छाेरीलाई चढाएर आकाश छुन सिकाउने उनै बाबा कवि आज त्यहि विगतबाट तड्पिएका छन् । त्यही आकाशसँग जलन भएका छन् । आरिस गरेका छन् । कविले छाेरीलाई भाैतिकरुपमा गुमाउनुका पीडा आकाशसँग पाेखेका छन् ।
हजाराैं बादलका ससाना झुण्डहरु
तर जब हेर्छु आकाशमा
कहिले तिमीलाई देख्छु बादलभित्र छाेपिएर लुकेकाे
त कहिले देख्छु बादलबाहिर निस्केर अनुहार देखाएकाे
जसरी हामी खेल्थ्याैै लुकामारी तिमी सानाे छँदा
फरक यति छ ,जब बाल्यकालमा लुकामारी खेल खेल्थ्याै
म तिमीलाई भेटाउन सक्थें
तर आज भेटाउन सकिरहेकाे छैन ।
भाैतिकरुपमा विलीन छाेरीकाे आकृति मनमा संकलन गरेर कविता काेरेका कवि बाबाले लुकामारी खेल्दा भेटाउन सक्थे तर आज सधैंलाई बादलभित्र लुकेकाे छाेरी भेटाउन नसकेकाे गुनासाे कविताका लहरमा पाेखेका छन् । आफ्नाे सन्तानकाे मृत्यु आफ्नै अघि कसरी सहे हाेलान् ? कसरी खपे हाेलान् ? कसरी मुटु निचाेरेर शब्दका मसिले कविता काेरे हाेलान् ? बाबा कवि कठाेर भएर छाेरीकाे सम्झना लेखेका छन् । छाती चिरियाे हाेला,मुटु भक्कानियाे हाेला । आँखा रसाए हाेलान् । हात काँपे हाेलान् थरथर गरि कविता लेख्दा । तरपनि छाेरी शिल्पालाई कवि बाबाले शिल्प लगाएर कवितामा जुगजुगलाई सम्झना हुने गरि काेरेका छन् ।
हरेक वर्ष झैं यस वर्ष पनि हामीले मनाउने छाैं तिम्राे जन्मदिन
जसरी उपहारमा ल्याईदिनथें पुस्तक दर्शनका पुस्तक,ईतिहासका पुस्तक विश्वका महान लेखकहरुका पुस्तक र तिमीले खाेल्थ्याै काैतूहलसाथ मैले ल्याईदिएकाे उपहार
तर यस वर्षलाई ल्याईदिएकाे छु आफैले लेखेकाे कविताकाे पुस्तक जाे यसअघिका जन्मदिनमा कहिल्यै दिन सकिनँ
तिम्राे पिताले लेखेकाे कविताकाे पुस्तक ।
३० काे दशकबाट कविता काेर्दै २०३६ सालमा कविताबाटै क्रान्ति छेडेका उनै कविले मृत्युपछि आफ्नी छाेरी शिल्पालाई आफैले लेखेकाे कविता उपहार जन्मदिनमा ल्याईदिएकाे भावुक कुरा सुनाईरहँदा आँसु नबग्ने कुरै भएन । आफ्नाे कविता उपहार जीवित छाेरीलाई दिन नपाउँदा उनकाे मन कति राेयाे हाेला, कति छियाछिया भयाे हाेला ? कसरी लेख्न सके हाेलान् याे भावुक बिदाईकाे अन्त्यहीन कविता ? सायद अक्षरले कविलाई भावुक र कडा बनाउँछ हाेला !
बजारमा भरखरै आएकाे कवितासङ्ग्रह "साला पहाडमें क्या है " मा कवि मीनबहादुर बिष्टले छाेरी शिल्पालाई आफ्नाे पीडादायी कविता समर्पण गरेका छन् । छाेरी गुमाउँदा मृतकसरि भएका कवि बिष्टले जीवनमा शैक्षिक उन्नयनका लागि थुप्रै काम गरेका छन् तर छाेरीकाे मृत्यु उनका लागि शूल बनेर मुटुमा पसेकाे छ । प्युठान जिल्लामा जन्मिएका कवि बिष्टले आफ्नाे जीवनकाे ५० वर्ष अवधिमा लेखेका कवितालाई भरखरमात्र बजारमा सङ्ग्रहका रुपमा ल्याएका छन् । अरु कवितामा प्रवेश गर्नु अघि सङ्ग्रहमा कविले छाेरी शिल्पालाई कवितामार्फत स्नेह गरेका छन् । सुमसुमाएका छन् । जीवनभरि नबिर्सिने प्रण गरेका छन् ।