Hamroprayas
बुटवलमा सरसफाइ अभियान शुरु

बुटवल,असोज ९ 
बुटवल उपमहानगरपालिकाले सरसफाइ अभियान शुरु गरेको छ। चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडकहरु र सार्वजनिक स्थलहरु सरसफाइ अभियान शुरु गरेको हो।अभियानको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले यो अभियानलाई नियमित बनाइने बताउनुभयो। उहाँले बुटवललाई सफा राख्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो।

उहाँले बुटवललाई सफा, सुन्दर र हरियाली शहरका रुपमा स्थापित गरी पर्यटकीय बिश्रामस्थलको रुपमा विकास गर्न गत आर्थिक बर्षदेखि हरियाली र उज्यालो बुटवल अभियान सुरु गरिएको प्रमुख पाण्डेयले बताउनुभयो ।बुटवलको ऐतिहासिक, व्यापारिक, आर्थिक महत्त्वलाई जोगाउँदै पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने मुख्य लक्ष्य सहित सरसफाई तथा हरियाली अभियान र उज्यालो बुटवल अभियान सञ्चालन गरिएको नगरप्रमुख पाण्डेयले बताउनुभयो ।

अभियानलाई सफल बनाउन नगरवासी, टोल विकास संस्था, राजनीतिक दल, सामाजिक संघसंस्था तथा सरोकारवाला निकायहरूलाई साथमा लिएर अगाडि बढेको उहाँले बताउनुभयो ।अभियानमा सरिक हुन जनप्रतिनिधिहरू सँगै कर्मचारी, नगरवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, सामाजिक संघसंस्थाहरु, राजनीतिक दल, स्वयंसेवी संस्थाहरूलाई आह्वान गरेको उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो । उहाँले नगर सफा रहेमात्रै नागरिक स्वस्थ रहने भएकाले घरघरबाटै सहर सफा राख्ने अभियान नियमित हुनुपन बताउनुभयो।

अभियानअन्तरगत यही असोज ११ गते कालिका स्कुलदेखि बसपार्कसम्म, १८ गते बसपार्कदेखि ट्राफिक चोकसम्म, कात्तिक २ गते ट्राफिक चोकदेखि गोलपार्कसम्म, ९ गते गोलपार्कदेखि तल्लो सिद्धबाबा मन्दिरसम्म र कात्तिक २३ गते योगीकुटीदेखि कालिका स्कुलसम्म सरसफाइ गरिनेछ। यस्तै कात्तिक ३० गते कालिका स्कुलदेखि बसपार्कसम्म र भित्री सडक, वडा क्षेत्र र सार्वजनिक स्थलहरुमा नियमित सरसफाइ गर्ने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update