जाजरकोट, कार्तिक २०
रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्प पीडितहरुको लागि राहत लिएर जाजरकोट पुग्नु भएको छ । कार्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. १ रामिडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पबाट पीडितहरुको लागि राहत सामग्री लिएर सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेल भूकम्प प्रभावित क्षेत्र पुग्नु भएको हो ।
भूकम्प भएको भोलिपल्ट नैं त्यसतर्फ प्रस्थान गर्नुभएका सांसद घिमिरे र गाउँपालिका अध्यक्ष पौडेलले कार्तिक १९ गते भूकम्प पीडितको लागि राहतको लागि चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोट लगायतका विभिन्न खाद्य सामग्री प्रदान गर्नुभएको छ । एकद्धार प्रणालीमार्फत् राहत प्रदान गर्ने नीतिअनुसार जाजरकोट जिल्ला प्रशासन कार्यालयमा राहत सामग्री हस्तान्तरण गरिएको सांसद घिमिरेले जानकारी दिनुभयो ।
सांसद घिमिरेले आफ्नो तर्फबाट र गाउँपालिका अध्यक्ष पौडेलले पालिकाको तर्फबाट भूकम्प पीडितलाई राहत प्रदान गर्नुभएको हो । गाउँपालिका अध्यक्ष पौडेलले रुकुम पश्चिमका भूकम्प पीडितलाई समेत राहत प्रदान गरिने जानकारी दिनुभयो । पीडितलाई तत्काल खाद्य सहितका राहत सामग्री आवश्यक पर्ने भएकोले भूकम्प गएकैं भोलिपल्ट भूकम्प प्रभावित क्षेत्र प्रस्थान गरेर राहत उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
राहतको घोषणा अन्य पालिकाहरुले गरे पनि स्वयंम् राहत लिएर गाउँपालिका अध्यक्ष पौडेल र आफ्नो व्यक्तिगत तर्फबाट पीडितलाई राहत दिन सांसद घिमिरे भूकम्प प्रभावित क्षेत्रमा पुग्नु भएको हो । त्यसक्रममा सांसद घिमिरे र गाउँपालिका अध्यक्षले भूकम्पबाट घाइते भएकोहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिनुभएको छ । जाजरकोट जिल्ला अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उहाँहरुले स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको हो ।
यस्तै उहाँहरुले सरकारी अधिकारी र स्थानीय जनप्रतिनिधिहरुसँग भूकम्पबाट भएको क्षति, उद्धार र राहत वितरणको बारेमा जानकारी समेत लिनुभएको छ । साथैं उहाँहरुले भूकम्प प्रभावित क्षेत्रहरुको समेत स्थलगत अवलोकन गर्नुभएको छ । स्थलगत अवलोकनपछि सांसद घिमिरेले अब भूकम्प पीडितलाई राहत र पुननिर्माणको आवश्यकता बढी रहेको महशुस भएको बताउनुभयो । घाइतेहरुको उपचारमा खास समस्या रहेको नपाइएको बताउँदै सांसद घिमिरेले अब सबैको ध्यान भूकम्प पीडितको पुनःस्थापनामा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । राहत वितरण प्रणाली एकद्धार प्रणालीबाट गरिनु सकारात्मक रहेको उहाँको भनाइ छ ।