Hamroprayas
संचारकर्मी श्रेष्ठ र गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोर्कापण

बुटवल,कार्तिक २५
संचारकर्मीद्वय सुमन श्रेष्ठ र विकास गौतमद्वारा लिखित ‘उद्घोषण पाठशाला’को लोर्कापण भएको छ । बुटवलमा बसेर लामो समयदेखि संचारकर्मसँगै उद्घोषण गर्दै आउनुभएका श्रेष्ठ र गौतमको पुस्तक आइतबार एक कार्यक्रमका विच लोर्कापण गरिएको हो ।लोर्कापण कार्यक्रममा बोल्दै अधिवक्ता तथा लेखक युवराज कडेँलले पुस्तक पठन योग्य रहेको बताउँदै कुनै पनि कुरालाई उचित ढङ्गले बोल्न सकिएन् भने जस्तोसुकै महत्वपूर्ण कुरा पनि प्रभावविहीन हुने बताउनुभयो । 

 वरिष्ठ पत्रकार खिमान्द्र भट्टराईले पनि पुस्तकमा धेरै कुरा समेटिएको र त्यसलाई पढेर लागु गर्न सके धेरै कुरा सिक्न सकिने बताउनुभयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले पुस्तकमा भएका कुरा पढेर मानिसमा बोल्ने कलाको विकास गर्न सहयोग पुग्ने खालको रहेको बताउनुभयो । साथै उनले पुस्तक लेख्नलाई आगमी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । 

पुस्तक लोर्कापण कार्यक्रममा बोल्दै सुमन श्रेष्ठले आफूले लामो समयसम्म संचारकर्ममा रहँदा र उद्घोषण गर्दाका अनुभवलाई पुस्तकमा लेखेको बताउनुभयो । साथै उहाँले आफुले जानेका कुराहरु अरुलाई पनि बाँडनु पर्छ भनेर पुस्तक लेखेको बताउनुभयो ।

यस्तै अर्का लेखक विकास गौतमले पनि २०६५ देखि आफुहरुले सँगै काम गरेको बताउँदै काम गर्दाका ती अनुभवहरुका आधारमा पुस्तक लेखेको बताउनुभयो । साथै उहाँले अब आफु संचारकर्ममा केही समय सक्रिय नहुने भएपनि संचार क्षेत्रप्रतिको माया र सद्भाव भने रहिरहने बताउनुभयो ।  

कार्यक्रममा लेखक सुमन श्रेष्ठका बुबा सत्य रश्मि श्रेष्ठ र विकास गौतमका ससुरा बुबा देविराम पाण्डे पनि सहभागि हुनुभएको थियो । उद्घोषण पाठशालाका लेखक श्रेष्ठ २०६० सालदेखि संचारकर्ममा सक्रिय रहँदै आउनुभएको छ । उहाँले यो विचमा बुटवलका विभिन्न रेडियोमा काम गर्नुका साथै विभिन्न कार्यक्रमहरुको उद्घोषण तथा प्रशिक्षण समेत दिदैँ आउनुभएको छ  । २०६६ सालदेखि संचारकर्म सुरु गरेका विकास गौतम पनि विभिन्न संचारमाध्यमा काम गरेको अनुभव छ ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update