Hamroprayas
लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशकै उच्च 

बुटवल, जेठ ७

शुशिला पोखरेल
गत असोज १ गते रुपन्देहीको कोटहीमाई गाउँपालिका बस्ने २२ वर्षीया सरिता पालको मृत्यु भयो । अस्पतालका अनुसार भदौ २१ गते बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्माएकी पालको अचानक स्वास्थ्यमा समस्या आएपछि पुन अस्पताल लगिएकोमा असोज १ गते मृत्यु भएको थियो ।

अस्पतालका अनुसार संक्रमणको कारण रगतको मात्रा कम, हेमोग्लोबिन कम, सेतो रक्त कोष शरीरभरी फैलिइसकेको र ढिलो अस्पताल आउँदा उनको उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

त्यस्तै भदौ ३१ गते तिलोत्तमा नगरपालिका ९ रुपन्देही बस्ने बिष्णु बस्यालको मृत्यु भयो । अप्रेशनपछि बच्चा जन्मेको बस्यालको २ दिनपछि लुम्बिनी प्रादेशिक अस्पतालमा  मृत्यु भयो । उच्च रक्तचाप भएको र शरीरका नसाहरु र मुटु कलेजोमा रगत जमेर मृत्यु भएको अस्पतालले जनाएको छ ।त्यस्तै मंसिर १२ गते बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा गुल्मीको सत्यवती गाउँपालिका वडा नं. २ ठुलो लुम्पेककी ३२ वर्षीया भवानी रास्कोटीको  मृत्यु भयोे  । शिशु ५ किलोको  जन्माएकी रास्कोटी उठाउने क्रममा अचानक चक्कर लागि ढलेपछि मृत्यु भएको अस्पतालले  जनाएको छ ।  

नपलपरासीकी पत्रकार सीता शर्माले गत  कात्तिक ८ गते छोरीलाई जन्म दिइन् । सुत्केरी भएपछि न्यून रतmचापसँगै अक्सिजको मात्रा कमी देखियो । केही दिन अस्पतालमै राखेर उपचार गरी निको भएपछि उनलाई घर लगिएको थियो। १० दिनमा अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि उनको मुत्यु भयो ।

पाल्पाको पालुङ्कमैनादीकी २० बर्षीया दीपा विश्वकर्माले पाल्पा मिसन अस्पतालमा  शिशुलाई जन्म दिइन् । जन्मे लगत्तै समयमै उपचार हुन नसक्दा अस्पतालमा ज्यान गएको थियो ।बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पताल र नेपालगञ्ज भेरी अस्पताल देशभरमा सरकारी अस्पतालहरु मध्येमा उत्कृष्ट घोषित भएका छन् ।

यी अस्पताल न्युनतम सेवा मापदण्ड मूल्याङ्कनका आधारमा देशका सबै सरकारी अस्पताल मध्येबाट ८० प्रतिशत अङ्क प्राप्त गरी उत्कृष्ट भएका छन् ।  भेरी अस्पतालले विगत ३ वर्षदेखि उत्कृष्ट अङ्क प्राप्त गरिरहेको  छ । भेरी अस्पतालले यसअघि सन् २०१९ मा ३१ प्रतिशत सन् २०२२ मा ६७ र सन् २०२३ मा ७५ प्रतिशत सन् २०२४ मा ८० प्रतिशत अङ्क प्राप्त गरेको अस्पताल लुम्बिनी प्रदेशमा अवस्थित छन् । यस्ता अस्पताल प्रदेशमा  भएता पनि मातृ मृत्यृदर देशकै उच्च  रहेको प्रदेशले जनाएको छ ।  

रुपन्देही जिल्लामा रहेको  लुम्बिनी प्रादेशिक अस्पतालका जीवित जन्म आर्थिक बर्ष २०८०।८१ मा १० हजार ४ सय ६५ जना महिला सुत्केरी हुँदा मातृ मुत्युदरको संख्या ९ रहेको छ  । रुपन्देहीका  ५, कपिलबस्तुका  २, गुल्मीका २ जना रहेको छ र उमेर समुह हेर्दा १५ देखि २० वर्षका ३ जना, २१ देखि २५ सम्मका ५ जना र ३५ बर्षको १ जना रहेको स्वास्थ्य बिभाग शाखाका बालकृष्ण पाण्डेले जानकारी दिए । यस अस्पतालमा चेकचाँच गर्न पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलबस्तु, नवलपरासी, प्यठान, स्याङ्जा, रुकुम रोल्पा लगायतका जिल्लाबाट उपचारका लागी बिरामीहरु आउने गर्दछन् ।

ल्ुाम्बिनी प्रदेशमा देशभरमै उच्च मातृ मृत्यृदर छ । ठुलाठुला र सुबिधा सम्पन्न अस्पताल भए पनि सुत्केरी आमा र शिशुको मुत्यु हुने दर बढी देखिएको छ ।  दुई–दुई वटा प्रादेशिक अस्पतालमा ३ वटा संघीय १३ वटा जिल्लास्तरका र १९ वटा साधारण अस्पताल रहेको लुम्बिनी प्रदेशमा स्वास्थ्य चौकीहरुको सङ्ख्या नै १ हजार ९ सय ४० रहेका छन् । 

प्रदेशमा अहिले २८ वटा आधारभूत स्वास्थ उपचार केन्द ५ सय ६३ वटा हेल्थ पोष्ट ४ सय ४९ वटा बार्थिङ सेन्टर र ३ सय ४ वटा आधारभुत स्वास्थ केन्द्ध गरी सरकारी स्वास्थ्य संस्था मात्रै ४ हजार ४१ वटा छन् । तर मातृ मृत्युका हिसाबले भने लुम्बिनी प्रदेश देशकै उच्च रहेको देखिएको  छ । २०७८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय तथ्याङ्क कार्यालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद र स्वास्थ्य विकास साझेदारीको संयुक्त प्रयासमा मातृ मृत्युदरको तथ्यांक अध्ययन गरिएको थियो । उक्त अध्ययन अनुसार लुम्बिनी प्रदेशमा मातृ मृत्युदर देशको उच्च रहेको पाइएको छ ।

प्रदेशमा एक लाख जीवित जन्ममा २ सय ७ जना आमाले ज्यान गुमाउने गरेका छन् । जुन देशका सातवटै प्रदेश मध्ये सबै भन्दा धेरै हो । देशभरको तथ्याङ्क हेर्दा प्रति १ लाख जीवित जन्ममा १५१ जना आमाले ज्यान गुमाउने गरेका छन् ।

लुम्बिनी स्वास्थ निर्देशनालयको तथ्याङ्क अनुसार भने २०७८।७९ मा ८९ हजार ४०० जीवित जन्ममा ७४ जना आमाको मृत्यु भएको छ । त्यस्तै २०७९।८० मा ८८ हजार ८ सय ७० जीवित जन्ममा ८२ जना आमाको मृत्यु भएको थियो भने २०८०।८१ मा जीवित ७० हजार २ सय ५ जना जीवित जन्ममा ५० जनाको मातृ मृत्युदर भएको प्रदेश स्वास्थ निर्देशनालयको तथ्यांकले  देखाएको  छ । प्रदेशमा सबैभन्दा बढी मातुमृत्यु हुने जिल्ला बाँके र त्यसपछि रुपन्देही रहेको छ । 

बाँकेमा १८ हजार ५ सयको  २७ जनाको  जन्ममा मातृ मृत्युदर २९ रहेको छ । रुपन्देही २८ हजार ३ सय ६६ जनाको जीवित जन्ममा २२ जनाको मृत्यु भएको छ । त्यस्तै कपिलबस्तुमा ८ हजार ४ सय ६० को जन्ममा ६ जनाको मृत्यु  भएको छ । पाल्पामा ३,  दाङ्कमा ६, बर्दिया ७ पश्चिम, नवलपरासीमा २, गुल्मीमा १ जना, प्युठानमा ७, रोल्पामा ४, त्यस्तै अर्घाखाँची र रुकुमपूर्वमा १–१ जनाको मृत्यु भएको छ । सबैभन्दा कम गुल्मी र अर्घाखाँची, पूर्वी रुकुममा एक एकजना आमाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका मातृमुत्यु तथा नवजात शिशु फोकल पर्सन कौशल भण्डारीका अनुसार लुम्बिनी प्रदेशमा उच्च मातृ मृत्युदरलाई  कम गर्न बिभिन्न प्रयासहरु भैरहेको छ । मातृ मृत्युदरको कारण पहिचान, अध्ययन र अनुसन्धान गर्न बिभिन्न प्रयासहरु भैइरहेको उनले बताए । विद्यालयमा नर्स कार्यक्रम अहिले सम्ममा ८२ जनालाई दिइदै आएको छ । उच्च मातृ मृत्युदर बढी भएको ठाउँका १० वटा स्थानीय तहमा आमा सुरक्षा कार्यक्रम र निःशुल्क रक्तसञ्चार सेवा, दुर्गम तथा अपायक क्षेत्रमा गर्भवती महिलाहरुका लागि हवाई उद्धार कार्यक्रम, पूर्ण संस्थागत प्रसुति निर्देशिका स्वीकृत अनुसार ६ वडा  स्थानीय तह घोषणा गर्ने, प्रसुतिको अवस्थामा रगत चाहिने आमाहरुको लागि निःशुल्क रगत सेवा उपलब्ध गर्ने कार्यक्रम भैरहेको भण्डारीले बताए । प्रदेशमा रहेका सबै स्थानीय तहमा प्रसुति वडा घोषणा गर्न पनि सुझाव दिए ।

लुम्बिनी प्रदेशरका ४४ प्रतिशत सुत्केरी आमाहरुमा गर्भावस्थामा उच्च रतm अवस्थाको समस्या रहेको पाइएको छ । ८ पटक चेकजाँच गराउनु पर्ने भए पनि ८८ प्रतिशत महिलाले गर्भजाँच नगराई सुत्केरी हुन अस्पताल आउँदा मुत्यु भएको प्रादेशिक अस्पताल बुटवलकी नर्सिङ विभाग प्रमुख ज्योति पौडेलले बताइन् । अहिले त बढी मुटु र मृर्गौला रोगको  समस्या रहेको महिलाले बच्चा जन्माउँदा बढी मृत्यु हुने गरेको उनले बताइन्  । 

 अहिले मातृ मृत्युदर कम गर्न गर्भवती महिलालाई पौष्टिक आहार वितरण कार्यक्रम सुरु गरेको तिलोत्तमा नगरपालिका उप प्रमुख जागेश्वरी चौधरीले बताइन् । चौधरीले पोषणले जीवनको सामग्र स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकोले नगरले यो बिषयलाई महत्व दिएको बताइन् । गर्भवती महिलाको स्वास्थ्यमा सुधार ल्याउन चेतना  अभिबृद्धिको लागि यस प्रकारको अभियान सुरु गरेमा मातृ मृत्युदर कम हुने उनले बताइन् ।

यसैगरी सिद्धार्थनगर नगरपालिकाले पछिल्लो समयमा पूर्ण संस्थागत प्रसुति सेवायुतm वडा घोषण गरेको नगर प्रमुख इश्तियाक अहमद खानले बताए । मातृ मृत्यु स्वास्थ्यलाई प्राथमिकतामा राखी क्षमता विकास र महिलाहरुलाई अगाडि बढाउन पालिका सधै प्रतिबद्ध रहेको बताए । नगरप्रमुख खानले हरेक वडामा महिला लक्षित कार्यक्रम सञ्चालन गरी क्षमता विकाससगै आर्थिक उपार्जन  जोड्दै आएकोले यसको फाइदा लिन नगरका महिलाहरुलाई आग्रह गरे । 

सिद्धार्थनगर नगरपालिकाभित्र रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई नगरले विभिन्न किसिमको सहयोग गर्दै आएको उनले बताए । पालिकाभित्र रहेका गर्भवती सुत्केरीले सिद्धार्थनगरका भिम अस्पताल, युनिभर्सल मेडिकल कलेजमा सुत्केरी भएमा  सुत्केरी शुल्क निशुल्क सेवा पालिकाले दिने बताए । अहिले पालिकाभित्र रहेका  १३  वटा वडा मध्ये ४ वटा वडामा पूर्ण  संस्थागत  प्रसुति सेवायुक्त वडा   घोषणा गरिएको जानकारी दिए । आर्थिक वर्षमा १३ वटा  वडाहरुमा पूर्ण संस्थागत  प्रसुति  सेवायुक्त वडा घोषणा  गर्ने लक्ष्य राखेको खानले बताए ।
 


 

प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update