बुटवल, मंसिर १०
बुटवल ८ सुख्खानगरमा रहेकोे दीप बोर्डिङ्ग हाई स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरुले बिभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । सोमबार विद्यालयमा आयोजना गरिएको बिद्यार्थीहरुका अन्तर्निहित प्रतिभा प्रस्फुटन कार्यक्रममा उनीहरुले आ आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् ।
कार्यक्रमका कक्षा ७ का ४ सेक्सनका१ सय ६४ जना विद्यार्थीहरुले गीत, कविता, नृत्य, भाषणकला, तेक्वान्दो, चित्रकला, योगा लगायतका प्रस्तुति शिक्षक ,अभिभावक, बिद्यार्थी र अतिथिका सामु प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष यज्ञ प्रसाद पंगेनीले सुख्खानगरमा अब्बल बिद्यालयहरु हुनु वडाकै लागी गौरवको कुरा भएको बताउनुभयो । उहाँले विद्यालयस्तरमा आयोजना हुने प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रमबाट बालबालिकाहरुमा आत्मविश्वास बढाउने बताउनुभयो ।
अभिभावकहरुलाई पनि आफ्ना बालबालिकाहरुको प्रतिभा चिन्नको लागि समेत यस्ता कार्यक्रम सहयोगी हुने बताउदै अध्यक्ष पंगेनीले आगामी दिनमा पनि संस्कार र सीप सहितको शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टिकाराम न्यौपानले किताबी ज्ञानसंगै विद्यार्थीहरुमा अतिरिक्त प्रतिभालाई प्रस्फुटन हुने गरि विद्यालयमा कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई बाहिर प्रस्फुटन गर्नको लागि दीपले प्राविधिक शिक्षालाई पनि जोड दिदै आएको बताउनुभयो । समय अनुसारको शिक्षाका लागि यस्ता प्रकृतिका कार्यक्रम आवश्यक रहेको समेत उहाँको भनाई थियो ।
कार्यक्रमका अतिथि स्मृती बोर्डिङ स्कुलका प्राचार्य हरिप्रसाद ज्ञवालीले बिद्यार्थीहरुले प्रस्तुत गरेका हरेक क्रियाकलाप अब्बल भएको भन्दै सबै विद्यालयले पनि यस्ता कार्यक्रम आयोजना गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय संचालक समिति अध्यक्ष राजेन्द्रप्रसाद ध्वजु, उपाध्यक्ष उमाकान्त चापागाई, सदस्य बसन्तकुमार जोशि, विद्यालयका उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल र सुरेन्द्रकुमार शाक्य, अभिभावक लगायतले आफ्ना भनाई राख्नुभएको थियो ।
प्रतिभा प्रस्फुटन गर्ने विद्यार्थीहरु मध्ये उत्कृष्टलाई पहिचान गरी विद्यालयको बार्षिक उत्सव लगायतका कार्यक्रममा पुरस्कार तथा सम्मान गरिने समेत विद्यालयले जनाएको छ ।