लुम्बिनी,मंसिर ११
लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा तेस्रो दीक्षान्त समारोह आयोजना गर्ने भएको छ । यही मंसिर १४ गते आयोजना गरिने दीक्षान्त समारोहको उद्घाटन विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ । उदघाटन समारोहमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलका साथै शिक्षामन्त्री विद्या भट्टराई र प्रदेशका मन्त्रीहरु पनि सहभागी हुने मंगलबार बौद्ध विश्वविद्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।
दीक्षान्त समारोह लुम्बिनी विकास कोषस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा र सभाको १७ औं बैठक विश्वविद्यालयको सिनेट हलमा सम्पन्न गरिने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिनुभयो ।आचार्यले दीक्षान्त समारोहमा विद्यावारिधी, स्नातकोत्तर र स्नातक तहका गरी दुई सय ८९ जना विद्यार्थीहरु दीक्षित हुने बताउनु भयो। उहाँले विश्वविद्यालयले पहिलोपटक मानार्थ विद्यावारिधी उपाधि समेत प्रदान गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार बौद्ध शिक्षा, धर्म, दर्शनको विकास तथा प्रवद्र्धनमा अतुलनीय योगदान पु¥याउनुभएका भिक्षुणी धम्मावती (गणेशकुमारी शाक्य) लाई मानार्थ विद्यावारिधी उपाधि प्रदान गर्ने यसअघि नै सभाले निर्णय गरिसकेको छ ।
त्यस्तै दीक्षान्तमा प्रत्येक संकायबाट स्नातक तह र स्नातकोत्तर तहमा सर्वोत्कृष्ट १५ जना विद्यार्थीहरुलाई विश्वविद्यालय स्वर्णपदकबाट सम्मान गरिने रजिष्ट्रार आचार्यले बताउनुभयो । विश्वविद्यालयले तेस्रो दीक्षान्त समारोहसँगै २० औं वार्षिकोत्सव समेत मनाउँदै छ । वार्षिकोत्सवका अवसरमा मंसिर १३ गते बुटवलमा रक्तदान, १५ गते अन्तर्राष्ट्रिय सेमिनार र मंसिर १६ गते देवदहमा शिक्षक तथा कर्मचारीबिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले हाल विश्वविद्यालयमा ३० वटा शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । उहाँले दुईहजार ३०८ विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयमा ९० जना विदेशी विद्यार्थीहरुले अध्ययन गरिरहेको बताउनुभयो । बज्राचार्यले शिक्षा संगै प्रर्यटन प्रवद्र्धन गर्नका लागि पनि यो कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । उहाँले जति प्रचारप्रसार हुन सक्यो त्यति नेपाली नागरिकलाई पनि बुद्ध दर्शन बौद्धशिक्षाका बिषयमा जानकारी मिल्ने बताउनुभयो । पत्रकार सम्मेलनको सञ्चालन सुचना अधिकारी चुरामणी पोखरेल (लक्ष्मण) ले गर्नुभएको थियो ।
लुम्बिनी, बुटवल, देवदहमा विश्वविद्यालयका आंगिक क्याम्पसहरु सञ्चालनमा रहेका छन् । दाङ, काठमाडौं उपत्यका, दोलखामा सहकार्य तथा सम्बन्धन प्राप्त १३ वटा क्याम्पसहरुमा विश्वविद्यालयका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन्।
अनुसन्धान केन्द्रमार्फत बौद्ध अनुसन्धान तथा थुप्रै बौद्ध दर्शनका पुस्तक तथा जर्नलहरु प्रकाशित हुँदै आएका छन् ।
भगवान् गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रुपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न, शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिसहित अन्य विषयको अध्ययन, अध्यापन र अनुसन्धान गर्नका लागि उच्च तहका शिक्षण संस्थाहरु सञ्चालन गर्न यस विश्वविद्यालयको स्थापना भएको हो ।