बुटवल, मंसिर ९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ। सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल)ले आइतबार बुटवलमा आयोजना गरेको लुम्बिनी प्रदेश सरकारसँगको समन्वयात्मक अन्तत्र्रिmया कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सहकारी क्षेत्रमा पछिल्लो समय देखिएमा समस्याको पहिचान गरी समाधानको लागि सरकार सकारात्मक रहेको बताउनुभएको हो ।
‘सहकारी क्षेत्र अर्थतन्त्रको महत्तवपूर्ण आधार भनिए पनि अहिले धराशायी बन्न पुगेको छ । समस्या सिर्जना गर्ने व्यक्ति र समूहलाई कारबाही गरेर बचतकर्ताको रकम फिर्ता हुने वातावरण बनाउन सरककार प्रतिवद्ध रहेको छ ।’ मन्त्री अधिकारीले भन्नुभयो। उहाँले ग्रामीण क्षेत्रका जनताको दैनिक समस्या समाधान सहकारीले नै गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताउनुभयो । सहकारीको विषयमा बढी नै हल्ला भएकाले सहकारी प्रतिको विश्वास गुम्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
केही व्यक्ति र समुहले सहकारीबाट लिएको ऋण फिर्ता गर्न पर्दैन भनेर हल्ला फैलाइरहे पनि त्यसको पछि नलाग्न आग्रह गर्दै ऋण लिने व्यक्तिका परिवारका सदस्यबाट भएपनि ऋण असुली गर्नेगरी सरकार अघि बढेको उहाँले बताउनुभयो । सरकारले सहकारी ऐन संशोधन गर्ने तयारी गरीरहेको बताउँदै मन्त्री अधिकारीले सहकारी पीडितले आफ्नो बचत फिर्ता पाउने आश्वासन दिनुभयो। मन्त्री अधिकारीले सहकारी संस्थाहरुले विधि विधानभन्दा बाहिर गएर धेरै पैसा कमाउन खोज्दा समस्या सिर्जना भएको बताउँदै सहकारी ऐन र नीति नियमअनुसार चल्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले असल सहकारीलाई प्रोत्साहन र गलत कार्य गर्ने सहकारीलाई कानुनको दायरामा ल्याएर छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी सहकारी समस्या समाधानका लागि तिन तहकै सरकारले समन्वय गरी काम गर्नुपर्ने बताउनुभयो । हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक तिर्थराज रेग्मीले व्यक्ति र परिवारलाई समुहमा आबद्ध गरी उद्यमी अभियानका साथ हेफरले सेवा नेपालसँग सहकार्य गरी काम गर्दै आएको बताउनुभयो। खसी बोकामा नेपाललाई आत्मनिर्भर बनाउन सहकारीको भूमीका महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । सरकारसँग सहकार्य गरी दुग्घजन्य पदार्थमा समेत नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ हेफरले काम गरीरहेको निर्देशक रेग्मीले बताउनुभयो ।
कार्यक्रममा सेवा नेपालका अध्यक्ष टीकाकुमारी अधिकारीले लुम्बिनी प्रदेशबाट ९६ सहकारी आबद्ध भएको बताउनुभयो । उहाँका अनुसार ६ वटा प्रदेशका २११ सहकारीमार्फत ४ लाख बढी सदस्य आबद्ध रहेका छन् । किसानले उत्पादन गरेका बस्तुले बजार नपाएर खेर गइरहेको अबस्थामा सहकारीमार्फत बजारीकरण गरी महिला दिदिबहिनीहरुलाई आर्थिक समृद्धिसँग जोड्ने काम भइरहेको उहाँले बताउनुभयो ।
सेवा नेपालकी कार्यकारी निर्देशक विष्णुकुमारी नेपालले २११ सहकारीबाट बढाएर एक हजार र ४ लाख सदस्यबाट बढाएर १५ लाख सदस्य पु¥याउने लक्ष्य लिएको बताउनुभयो। सहकारीमा बचत भएको रकमबाट उद्यमी बैंक सञ्चालन गर्ने योजना बनाएको उहाँको भनाइ छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य निमा गिरी, योजना आयोगगका उपाध्यक्ष डा।डिल्ली अर्याल, तुलसीपुर उपमहानगरपालिकाका पूर्वप्रमुख तथा ग्रिन फाउण्डेशनका अध्यक्ष घनश्याम पाण्डे, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, वाणगंगा नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी, हेफरका क्षेत्रीय निर्देशक प्रेम स्याम्बु, बिभिन्न सहकारीका सदस्यहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रम सेवा नेपालका लुम्बिनी प्रदेश संयोजक शान्ता पोखरेलको स्वागत तथा सचिव सैलजा घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।