Hamroprayas
खु्द्रा किराना व्यवसायी संघ रुपन्देहीद्वारा गौशालामा आहार वितरण

बुटवल, मंसिर १३ 
खु्द्रा किराना व्यवसायी संघ बुटवल, रुपन्देहीले बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित नन्दिनी गौशालामा गौमाता आहार वितरण गरिएको छ । संघको १८ औं स्थापना दिवसको अवसरमा गौशालामा गौमाता आहार वितरण गरिएको हो । कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलका सडक तथा विभिन्न स्थानहरुमा अलपत्र अवस्थामा रहेका गाईगोरुहरुलाई गौशालामा ल्याएर सुरक्षित एवं व्यवस्थित बनाइएको बताउनुभयो  ।

उहाँले राष्ट्रिय जनावर अलपत्र अवस्थामा रहनुभन्दा व्यवस्थापन गर्ने उद्देश्यअनुसार नै नगरप्रमुखको नेतृत्वमा काम सुरु भएको बताउनुभयो  । खुद्रा व्यवसायीहरु प्रत्यक्ष नागरिकको भान्सामा पुग्ने भएकोले विक्रीवितरण गर्दा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले खानेकुराको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै संघका सल्लाहकार कृष्णप्रसाद पाण्डेले हाटबजारमा व्यवसायीले सहज बेच्न पाउने तर, खुद्रा व्यापारीहरुले पीडा भोग्नुपरेको बताउनुभयो । उहाँले खुला सीमा नाकाले व्यवसाय तथा अर्थतन्त्रमा प्रभाव परेको बताउनुभयो ।  संघका अध्यक्ष महेन्द्र प्रसाद पोखरेलले छाडा चौपायाले खुद्रा व्यवसायीहरु समस्यामा पारेको र यही मुद्दा सुरुवातदेखि नै संघले उठाउँदै आएकोले गौशालामा रहेको गाईगोरुलाई आहार उपलब्ध गराइएको बताउनुभयो। 

संघको १८ औ स्थापना दिवसको अवसरमा संस्थापक अध्यक्ष टिकाराम गैरेलाई सम्मानित गरिएको थियो । सम्मान पश्चात बोल्दै गैरेले संघको स्थापनादेखि अहिलेसम्म आउँदा भएका उतारचढावको बारेमा बताएका थिए । कार्यक्रममा मानव अधिकारी तथा शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्णप्रसाद भट्टराई, संघका पूर्वअध्यक्षहरु ज्ञान प्रसाद न्यौपाने, कमला गौतम, मोहन प्रसाद बस्याल, महासचिव गोपाल ज्ञवाली लगायतले बोल्नुभयो । गौशालामा गाईको लागि चापट, घाँस, भेली लगायतका सामग्री हस्तान्तरण गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक ज्ञान प्रसाद न्यौपानेले जानकारी दिनुभयो  ।
 
 

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update