बुटवल,मंसिर १३
महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको लोकाहामा विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसन खुलेसंगै विद्युतीय गाडी सञ्चालनमा सहज भएको छ ।कावासोती नगरपालिका–११ लोकाहामा एकै पटक ५ वटा विद्युतीय गाडी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन सेवा शुरु भएको हो । असोज पहिलो साताबाट यहा सेवा सञ्चालनमा आएको हो ।
कावासोतीकै युवा व्यवसायी विष्णु अधिकारीले राजमार्गमा जोडिएको करिब ५ कठ्ठा जग्गामा स्टेशन सुरु गर्नुभएको हो । महेन्द्र राजमार्ग हुँदै ओहोरदोहोर गर्ने विद्युतीय गाडी चार्ज गर्न सुविधा पुगोस् भनेर सेवा सुरु गरिएको हो,’ अधिकारीले भन्नुभयो, ’हरेक दिन बिहानैदेखि चार्जिङका लागि गाडी आउँछ ।’
गाडीको ब्याट्री क्षमताअनुसार शुल्क लिने गरेको उहाँले सुनाउनुभयो । कति शुल्क लिने भन्ने सरकारी मापदण्ड भने तोकिएको छैन । महेन्द्र राजमार्गको बुटवल नारायणगढ सडकको १ सय १४ किलोमिटर खण्डमा सेवा सुरु गरिएको यो पहिलो चार्जिङ स्टेशन हो । त्यहा यात्रुको सुबिधाका लागि शौचालयको समेत व्यबस्था छ ।
स्टेशन परिसरमा गाडी ग्यारेज र कफी सप समेत सञ्चालनमा ल्याउने उहाँको योजना छ। आउँदो एक वर्ष भित्र थप १५ वटा गाडी एकै पटक चार्ज गर्न मिल्ने क्षमताको बनाउने अधिकारीले जानकारी दिनुभयो। हाल चार्जिङ्ग स्टेशनबाट जिविटी र सि सि एस टि प्रविधि मार्फत एकैपटकमा ५ वटा विद्युतिय सवारी साधन चार्ज गर्न सकिन्छ ।
जसमध्ये जिविटीका लागी ४० किलोवाट क्षमताका ३ वटा नोजल जडान गरिएको छ भने सिसिएसटिका लागी ६० किलोवाट क्षमताका २ वटा चार्जिङ्ग नोजल जडान गरिएको छ । चार्ज गरेको ४५ मिनेट देखी १ घण्टाको अवधिमा सवारी साधनहरु फुल चार्ज हुने अधिकारीले बताउनुभयो ।
सुरुवात ५ वटा नोजलवाट भएतापनी आगामी दिनहरुमा १० वटा सम्म नोजलहरु जडान गर्ने तथा स्टेसन परिसरमा स्तरिय होटल तथा रेष्टुरेन्ट, कारवास,स्पेयर पार्टस पसल लगायतका सेवा सुचारु गर्ने अधिकारीको योजना छ ।
विद्युतिय सवारीको आवश्यकता अनुसार सन्चालन ल्याईको स्टेसनलाई नवलपुर जिल्लाकै उत्कृष्ट चार्जिङ्ग हवको बिकास गर्नै अधिकारीको लक्ष्य छ ।