बुटवल ,मंसीर १८
शिक्षा र मानव अधिकार एक अर्काको परिपुरक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । शिक्षा स्वाभिमान र स्वतन्त्रताले समानताका लागि न्याय अधिकार सम्पन्न गराउन मद्दत पुग्ने उनीहरुको भनाइ छ। शिक्षाले मानिसलाई सधै अधिकारका लागि लड्न सचेत गराउने उनीहरुले बताएका हुन् ।
हामी सबैको प्रतिवद्धता लैङ्िगक हिंसा अन्त्यका लागि ऐक्यबद्धता भन्ने नाराका साथ मनाईदै गरेको लैङ्िगक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको सन्दर्भ पारेर मंगलबार बुटवलमा आयोजना गरिएको मानव अधिकार र शिक्षा बिषयक सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई)जिल्ला समन्वय समिति रुपन्देहीको नेतृत्वमा, सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको सहकार्य र किडासाको सहयोगमा आयोजना गरिएको कार्यक्रममा मानव अधिकार र शिक्षा बिषयक कार्यपत्र प्रस्तुत गर्दै सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशका पूर्वसचिव थानेश्वर ज्ञवालीले मानव अधिकारका आधारभुत अधिकारका बारेमा सबै नागरिक जानकार हुन आवश्यक रहेको बताउनुभयो।मानव अधिकार विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका मानव अधिकारको क्षेत्रमा भए गरेका अभ्यासका बारेमा जानकारी गराउनुभएको थियो ।
ज्ञवालीले समानताको अधिकार र स्वतन्त्रताका लागि नेपालको संविधान उत्कृष्ट रहेको बताउनुभयो । उहाँले कतिपय कुराहरु संविधानमा उल्लेख हुदाहुदै पनि व्यवहारमा लागु नभएको बताउनुभयो । देशमा तिन तहका सरकार हुदाहुदै पनि अझै नागरिकहरुले आफ्नो अधिकारको प्रत्याभूत गर्न नसकेका कारणले यस्ता कार्यक्रम र छलफल निरन्तर गर्न आवश्यक रहेको शिक्षाका लागि राष्टिय अभियनका रुपन्देही संयोजक सुमित्रा शर्माले बताउनुभयो । शर्माले शिक्षा संगै अधिकार आजको आवश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा गैसस महासंघ केन्द्रिय सदस्य गोबिन्द रेग्मी, एनसिई लुम्बिनी संयोजक समिता मल्ल, मानव अधिकार एलाईन्स रुपन्देही प्रदेश कोषाध्यक्ष मिनाक्षी न्यौपाने ,एकल महिला अधिकारकर्मी रिता सेन,जानकी नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देही सचिव यज्ञ सापकोटा लगायत सरोकारवालाहरुले बोल्दै मानव अधिकार र शिक्षाका लागि निरन्तर बहस आवश्यक रहेको बताएका थिए ।