Hamroprayas
समाजवादको भ्रुण रोपिएको छ, यसलाई बढाउँदै लैजाऔंः प्रचण्ड

काठमाडौं, मंसिर २४ 

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा समाजवादको भ्रुण रोपिसकिएको उल्लेख गर्दै अब यसलाई अघि बढाउँदै लैजानुपर्ने बताउनुभएको छ ।नेपाल राष्ट्रिय कर्मचारी महासंघको १८ औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले समाजवादीको भ्रुण रोपिएकाले यसलाई बढाउँदै लैजाने अबको दायित्व भएको बताउनुभएको हो ।

विगतको गम्भीर समीक्षा गर्दै पार्टी र आन्दोलनलाई नयाँ शीराबाट अघि बढाउन प्रण गरेको उल्लेख गर्दै उहाँले सबैलाई यसमा सहयोग गर्न पनि आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो तेस्रो प्रधानमन्त्रीत्व कालमा सुरु गरेका सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डाबाट नै समृद्धिको भ्रुण रोप्ने काम गरिएको उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो– ‘विगतका सबै अनुभवबाट शिक्षा लिंदै मेरा आफ्नै पनि कहाँनेर कमजोरी रहे भन्ने आत्मसमीक्षा गर्दै तेस्रोपटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा लिएको अठोटसँगै समाजवादको भ्रुण रोप्ने काम गरिएको छ ।’

२०६४ सालमा जनताले गरेको विश्वास र भरोसा कायम राख्न नसकेको उल्लेख गर्दै उहाँले पार्टीलाई एकताबद्ध गरेर जनभावनाको उच्च सम्मान गर्दै विकास र समृद्धिमा अगाडि जान नसक्दा आन्दोलन पछि परेको बताउनुभयो । ‘विगतमा राम्रो गर्न खोज्दाखोज्दै पनि केही ठाउँमा आत्मसमीक्षा गर्ने ठाउँमा पुगेकै छौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले हाम्रा एजेण्डालाई जसरी दृढतापूर्वक अगाडि बढाउनुपर्ने थियो, त्यसमा कमजोरी भयो । हाम्रो वर्ग र समुदायप्रतिको निष्ठा र लगाव कमजोर हुँदै गयो । यसको गहिरो आत्मसमीक्षा गर्ने ठाउँमा हामी आइपुगेका छौं ।’ 
आफूहरुले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व केही मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरे पनि पार्टी एकतालाई अक्षुण्ण राख्न नसक्दा ती उपलब्धि जनताको बीचमा लैजान नसकेको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्डले थप्नुभयो– ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौं भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्यौं । तर पार्टी एकताबद्ध नहुँदा र आम कार्यकर्ता र जनताको पंक्तिमा विश्वास डगमगाउँदै जाँदा हामीले गरेका राम्रा काम जनतामा स्थापित गर्न सकिएन ।’  
यो सबै परिस्थितिमा पार्टी पुनर्गठन र पुनर्निर्माणको सवालमा बैठकहरु हुने छलफल हुने तर उल्लेख्य प्रगति नहुने बरु दिनप्रतिदिन पार्टी र आन्दोलन कमजोर हुँदै जाने अवस्थाबाट पाठ सिकेर नै आफूले तेस्रो कार्यकाललाई नयाँ ढंगले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको उहाँले स्पष्ट गर्नुभयो । 

आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्वपूपूर्ण काम अघि बढाइएको बताउनुभयो । 
‘सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । यसले नै पार्टी र आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन पनि आधार तयार गरेको छ ।’

सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान कदम कदममा अगाडि बढ्न थालेपछि बिचौलियाहरु तर्सेर रातारात षड्यन्त्र गरेर सरकार ढाल्न थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकार सत्तारुढ दलहरुले होइन बिचौलियाले चलाइरहेको र सरकारमा रहेकाहरु उनीहरुका मुखौटा मात्रै भएको टिप्पणी गर्नुभयो । सरकारबाट बाहिरिएपछि आफूहरुले थालेका राम्रा काम लिएर जनताको बीचमा जाने प्रक्रिया सुरु गरेको जानकारी दिंदै उहाँले जनताको तागतबाट नै समाजवाद निर्माणको अभियान अघि बढाउने प्रण गरेको बताउनुभयो ।
 

 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update