Hamroprayas
बुटवलमा पुस ३ गतेदेखि औद्योगिक व्यापार मेला सुरु हुने 

बुटवल,पुस १
बुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला सुरु हुँदैछ। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवल मण्डपमा औद्योगिक व्यापार मेला बुटवल–२०८१ गर्न लागिएको हो।

‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मूल नारासहित आयोजना गरिएको मेलाको तयारी पूरा भएको आयोजक बुटवल उद्योग वाणिव्य संघ रुपन्देहीले सोमबार मेला सचिवालयमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। २०४१ सालमा उपत्यका बाहिर पहिलोपटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको संघले आयोजना गरेको यो २४औं संस्करणको औद्योगिक व्यापार मेला हो।

बटुवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा यो मेलाको आयोजना गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनुभयो । 

औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यवसायीकरणका लागि विशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टाछुट्टै १० वटा पेभिलियन रहनेछन्। मेलामा औद्योगिक, हस्तकला, कृषि र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रमसहित सांस्कृतिक सांगीतिक कार्यक्रम हुनेछन्।

१६ दिनसम्म सञ्चालन हुने मेलामा ५ सय स्टल रहने छन्। मेलाको ५ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र १५ करोड बढीको कारोवार हुने अनुमान गरिएको छ। यसपटकको मेलालाई अहिलेसम्म भएका मेलाभन्दा धेरै फरक बनाउने गरी तयारी गरिएको र त्यसको लागि कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा विषयगत समितिका संयोजकहरु लागि परेको कार्यसम्पादन समितिका सदस्यसचिव तथा प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हाँस्यव्यङ्ग्य प्रतियोगिता, व्यूटि शो र टिकटक प्रतियोगितालगायतका प्रतियोगिता गरिने छ। त्यसैगरी ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुती रहने मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसाद उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले बताउनुभयो ।

मेला अवलोकन गर्न आउने सर्वसाधारणका लागि ७० रुपैंया र विद्यार्थीका लागि ५० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। त्यस्तै जेष्ठ नागरिक, असक्त, अपांगता भएका व्यक्तिका लागि निःशुल्क टिकटको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।पत्रकार सम्मेलनमा संस्थाका पुर्ब अध्यक्षहरु,बिभिन्न संघ संस्थाका प्रतिनीधि हरु र पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ०७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update