बुटवल,पुस २
नेपाल पत्रकार महासङ्घले पहिलो पटक महिला नेतृत्व पाएको छ । गत शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् ।महासङ्घको केन्द्रीय निर्वाचन समितिको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिष्पर्धी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत प्राप्त गर्नुभयो ।वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गर्नुभयो ।
उपाध्यक्ष महिलामा नितु पण्डितले चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गर्नुभयो ।उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्दले चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकतम प्रतिष्पर्धी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गर्नुभयो ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिष्पर्धी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गर्नुभयो । यस्तै कोषाध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित हुनुभएको छ ।