पाल्पा,पुस ८
तिनाउ गाउँपालिका वडा नं.२ नुवाकोटबासी,स्थानीय सरकार र सिद्धार्थ केवलकार सञ्चालककाबीच केवलकार सञ्चालन र सुविधा सम्बन्धि छलफल कार्यक्रम नुवाकोटमा सोमबार सम्पन्न भएको छ । स्थानीय नुवाकोट भैरव युवा समाजले आयोजना गरेको उक्त छलफल कार्यक्रममा स्थानीहरुले केवलकारमा ५० % सुविधा पाउनुपर्ने,ज्येष्ठ नागरिकलाई निःशुल्क हुनुपर्ने,बुटवल पढ्न जाने विद्यार्थीलाई कन्सेक्सन हुनुपर्ने,नुवाकोटमा उत्पादन भएका कृषिजन्य उत्पादन निर्यात र बुटवलबाट गरिने सामानको आयातमा सेवासुविधा मिल्नु पर्नेमा जोड दिनुभयो ।
साथै उनीहरुले बालबच्चालाई र नुवाकोटमा व्यवसाय गर्नेहरुलाई उचित सहुलियत मिल्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीका शिक्षा विज्ञ दलबहादुर गुरुङले नुवाकोटको केवलकार सञ्चालन,सेवासुविधा र व्यवस्थापनका लागि नुवाकोटबासी, स्थानीय तिनाउ सरकार र केवलकार सञ्चालकबीच त्रिकोणात्मक सम्बन्ध, सहकार्य र सहयात्रा हुनुपर्नेमा जोड दिदै स्थानीयका उचित मागहरुलाई सम्बोधन गर्न केवलकार सञ्चालकसँग स्थानीय तिनाउ सरकारले पहल गर्नुपर्ने बताउनुभयो । केवलकार सञ्चालक पनि स्थानीय तिनाउ सरकारसँग समन्वय गरि अघि बढेमा उत्तम हुने प्रमुख अतिथि गुरुङले सुझाउनुभयो ।
स्थानीय सरकार,नुवाकोटबासी र केवलकार सञ्चालकका बीच अधिकार सम्पन्न सम्वाद समिति गठन गरि समयसमयमा आवश्यक बैठक,छलफल गरि अघि बढेमा सबैलाई हित हुने उहाँले जानकारी गराउँदै स्थानीयहरुको सहयोगबिना नुवाकोटमा धार्मिक एवम् पर्यापर्यटन असम्भव रहेको समेत सुनाउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले पर्यटन,कृषि र यातायात व्यवस्थापनबाटै आफ्नो समृद्धि सम्भव ठानिरहेको बेलामा स्थानीयहरुले समेत केवलकार सञ्चालन,पर्यटकको सुरक्षामा विशेष ध्यान र सहयोग गर्नुपर्नेमा प्रमुख अतिथिले जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि, तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्यालले केवलकार सञ्चालकले स्थानीय तिनाउ सरकारसँग हातेमालो गरि अघि बढ्नुपर्नेमा जोड दिदै तिनाउ गाउँ कार्यपालिकाले नुवाकोटमा निर्मित डबली सञ्चालन कार्यविधि बनाई प्रदेश सरकारसँग सञ्चालन स्वामित्व लिन तयार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अतिथि नुवाकोट विकास समितिका अध्यक्ष माधवप्रसाद नेपालले नुवाकोटबासीका मुहार उज्यालो बनाउने सपना छिट्टै पूरा हुने बताउँदै तोपहानक्षेत्र,नुुवाकोटगढी, काठेगढीको संरक्षण गर्दै तिरुपति बाबाजीको मन्दिर निर्माण कार्यलाई अघि बढाउन आफूहरु निरन्तर क्रियाशील रहेको बताउनुभयो ।
साथै कार्यक्रममा केवलकारका प्रतिनिधिका रुपमा आएका केवलकारका प्रमुख कार्यकारी अधिकृत नरबहादुर कार्कीले स्थानीयका मागलाई बोर्डमा लैजाने र स्थानीय सरकारहरुसँग आवश्यक सहकार्य गरी सम्बोधन गर्न आफूहरु तयार रहेको बताउनुभयो । कार्यक्रममा स्थानीयहरु विष्णु कुमाल,तारा बस्याल,हरिकला कुमाल,लक्ष्मण कुमाल,गोपाल गुरुङ र अणप्रसाद बस्याललगायतले सम्बन्धित विषयमा आआफना विचार राख्नुभयो ।