Hamroprayas
राजनीतिक नेतृत्व र जनप्रतिनिधिका बीच घनिष्ट सम्बन्ध आवश्यक

पाल्पा, पुस १८ 

नेकपा एमाले तिनाउ ४ नम्बर वडा कमिटीको दोस्रो नियमित बैठक सत्यवतीमा सम्पन्न भएको छ । बैठकले टोल कमिटी पुनर्गठन,नयाँ सदस्यता विस्तार,सदस्यता नवीकरण,जनवर्गीय संगठन गठन एवम् परिचालन,वडा सम्पर्क कार्यालय स्थापना र विकास निर्माण सम्बन्धमा निर्णय गरेको हो । 

बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी,पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगरले नेकपा एमालेका नीति,विचार र सिद्धान्त र कार्यक्रमिक योजनाका बारेमा प्रष्ट्याउँदै  जनमुखी पार्टीका रुपमा एमालेलाई जनताका घरदैलोमा पुराउन सबै नेता,कार्यकर्ताहरुसँग अपील गर्नुभएको छ ।  नेतृत्व र कार्यकर्ताले जनतासँग मिलेर समृद्धिका बाटा रोज्नुपर्छ र त्यसका लागि वडा कमिटीका साथीहरु एकीकृत भएर अघि बढ्न घर्तिमगरले अनुरोध गर्नुभएको हो । 
बैठकका विशिष्ट अतिथि प्रदेश कमिटीका सदस्य एवम् तिनाउ इन्चार्ज दलबहादुर गुरुङले नेकपा एमालेले आफ्नो पार्टीका साथीहरुलाई उद्यमशीलतासँग जोड दिदैं लगेको बताउनुभयो । पार्टीका नेता, कार्यकर्तालाई प्रशिक्षणका माध्यमबाट मजबुद बनाउन आफूहरु निरन्तर गतिशील रहेको उहाँले बताउनुभयो। तिनाउको राजनीतिलाई एमाले केन्द्रीत बनाउँदै वडा कमिटीले सबै टोलसम्म पुगेर सदस्यता विस्तार गर्न अनुरोध गर्नुभयो । 

साथै बैठकका अतिथि जिल्ला कमिटीका उपाध्यक्ष विमल काफ्लेले तिनाउमा राजनीति नेतृत्व र जनप्रतिनिधिका बीच घनिष्ट सम्बन्ध रहेको बताउँदै यसलाई थप जनमुखी बनाउँदै  समृद्धिको सपना बुन्न समेत सबैलाई अपील गरे। जनताको सुख र दुःखमा एमाले रहेको उहाँले बताउनुभयो । बैठकका जिल्ला कमिटीका सदस्यहरु प्रेम श्रेष्ठ,यादवप्रसाद अर्याल ,गाउँ कमिटीका अध्यक्ष रोमबहादुर लम्तरी र वडा नं ४ का अध्यक्ष तुलबहादुर आलेले वडा नं.४ का राजनीतिक अवस्था,जनताको सेवा,विकास निर्माण  र भावी योजनाका बारेमा विस्तृत जानकारी गराएका थिए। उहाँहरुले पार्टीलाई अघि बढाउन आफूहरु निरन्तर क्रियाशील हुने प्रतिवद्वता जनाउनुभयो । 

बैठकमा भीम राना,बलबहादुर आले,चेतबहादुर दर्लामी,मानबहादुर गाहा,नरबहादुर दर्लामी,धनबहादुर सुनार,टेकबहादुर दर्लामीलगायतले पार्टी र जनप्रतिनिधिका बीच सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्ने बताउनुभयो। बैठकमा वडा कमिटी अध्यक्ष लालबहादुर दर्लामीको अध्यक्षता र उपाध्यक्ष तिलबहादुर रानाको स्वागत रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update