Hamroprayas
ज्यान बचाउन हाम फाल्ने क्रममा टिप्परको टायरले किचेर पाल्पामा एक युवतीको मृत्यु

बुटवल,कार्तिक २२

चुनढुङ्गा बोकेर हिडेको टिप्परले किचेर एक युवतीको मृत्यु भएको छ । पाल्पाको निस्दि गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि सडक खण्डमा बुधबार विहान भुटुकेबाट चुनढुङ्गा बोकेर नवलपुरमा रहेको होङ्सी सिमेन्टतर्फ जादै गरेको लु २ ख ५२९ नम्बरको टिप्परले किच्दा युवतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी पुर्वखोला गाउँपालिका–२ जल्पा बस्ने १९ वर्षीया दिलकुमारी आलेको ज्यान गएको हो । सोही टिप्परमा सवार आले ब्रेक फेलभएपछि ज्यान बचाउन हाम फाल्नेक्रममा टायरले किचेर ज्यान गएको थियो । 

यसैगरी टिप्परमा सवार निस्दि गाउँपालिका–७ की २५ वर्षीया हिमाली आले ज्यान बचाउन हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

चालक मनोहरी गाउँपालिका–९ का २६ वर्षीय अन्जन सुनार र सहचालक मकवानपुर हेटौंडा–९ का २४ वर्षीय आशिष सुनार सामान्य घाइते भएको पाल्पा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update