Hamroprayas
सडक यातायातलाई सुरक्षित बनाऔं : नगर प्रमुख खाँण

बुटवल,पुस २२ 
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले सडक यातायातलाई सुरक्षित बनाउनुपर्ने बताउनुभएको छ । उहाँले  यातायत व्यवसायलाई भरपर्दो बनाउनका लागि पूँजीगत लगानी वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.को पाँचौं तथा पश्चिम नेपाल बस व्यवसायी बहुउद्देश्यीय सहकारीको चौथौ वार्षिक साधारणसभाको अवसरमा आइतबार तिलोत्तमाको वनबाटिकामा आयोजित कार्यक्रममा बोल्दै उहाँले सडक बिस्तार तथा निर्माणको मोडालिटीमा समेत सुधार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

हाल निर्माणाधिन बुटवल–नारायणगढ सडक बिस्तारको काम वर्षौसम्म बिलम्ब हुँदा यात्रुले सास्ती खेप्नु परेको गुनासो गर्नुभयो।खाणले संघिय सरकारले नागरिकलाई सास्ती नहुनेगरि सडक निर्माणका लागि आवश्यक प्रबन्ध मिलाउनुपर्ने बताउनुभयो । उहाँले मंसिर २८ मा निर्वाचित पत्रकार महासंघ रुपन्देहीको टिमलाई सत्य तथ्यमा रहेर पत्रकारिता गर्न आग्रह गर्नुभयो ।

अब बन्न लागेको बुटवल–चन्द्रौटा सडकमा त्यस्तो अवस्था आउन नदिन नयाँ मोडालिटी अपनाउनु पर्ने खाणाको भनाई छ । समयमा निर्माणको काम नसकिने तथा गलत विधिबाट पूर्वाधार निर्माणका काम गर्दा यात्रुमात्र नभई यहाँका उद्योगी व्यवसायीले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले सचेत हुन आग्रह गर्नुभयो।

कार्यक्रममा प्रा. लि तथा सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दधिराम खरेलले स्तरीय सडक पूर्वाधारको अभावले वर्षेनी मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको गुनासो गर्नुभयो  । सडक पूर्वाधार बिस्तारमा हुने ढिला सुस्तीले सबैभन्दा बढी यातायात व्यवसायीले मार खेप्नु परेको गुनासो गर्दै उहाँले राज्यबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरु समेत विचौलियाको हातमा पर्ने गरेको उल्लेखगर्नु भयो । पछिल्लो समय विद्युतीय सवारीको आयात तथा प्रयोगमा वृद्धि भएपनि यसका लागि सरकारले दिनेगरेको भन्सार छुटको सुविधा यातायात व्यवसायीले नभई विचौलियाले लिने गरेको गुनासो गर्नुभयो । पश्चिम नेपाल बस व्यवसायी प्रा।लि। विद्युतीय सवारी सञ्चालनमा दोस्रो संस्थाको रुपमा रहेको उल्लेख गर्दै उहाँले अब देशकै पहिलो संस्थाको रुपमा स्थापित गर्ने उल्लेख गर्नुभयो । 

यसैगरी यातायात व्यवसायीहरुको अस्वस्थ प्रतिस्पर्धाले ठूलो लगानी गर्नुपरेको तथा कतिपय व्यवसायी विस्तापित हुनु परेको उल्लेख गर्दै उहाँले सचेत हुन सदस्यहरुलाई आग्रह समेत गर्नुभयो । हाल २२ सय बढी सदस्य रहेको प्रा।लि।ले सेवालाई थप गुणस्तर र विश्वसनीय बनाउँदै टिकट काउन्टरलाई महिलामैत्री बनाउने समेत योजना प्रस्तुत गर्नुभयो । यातायात व्यवसायी र यातायातको क्षेत्रमा प्रालिले धेरै उदाहरणीय कार्य गरेको खरेलको दाबी छ ।

कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष तुलसीराम बन्जाडे, संचालक जीवन बन्जाडे, अर्का संचालक मोहन पीएसले बोल्दै कोरोना महामारी तथा आर्थिक मन्दीले सबैभन्दा बढी यातायात व्यवसायीले मार खेप्नु परेको बताउनुभएको थियो । सरकारले व्यवसायीमैत्री नीति ल्याउनु पर्ने बताउँदै उहाँहरुले व्यवसायीहरु विस्तापित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा हालै सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनबाट निर्वाचित केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य तथा रुपन्देही जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरेको छ । सो अवसरमा बोल्दै रुपन्देही जिल्लाका नवनिर्वाचित अध्यक्ष दिनेश पाण्डेले महासंघ यातायात व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । निजी क्षेत्रसको समस्याबा बारेमा महासंघले आवाज उठाउन सधै तयार रहेको उल्लेख गर्दै सत्य र तथ्यमा आधारित रहेर कलम चलाउन सधै प्रतिवद्ध रहेको बताउनुभयो  ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रा।लि।मा लामो समय काम गर्ने मजदुर, कर्मचारी तथा व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रा।लि।का सञ्चालक रामचन्द्र भुसालले गर्नुभएको थियो । 


 

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update