
पाल्पा, माघ ३०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्तर प्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकारले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष उपस्थितीमा पाल्पाको रानीमहलमा आयोजना गरेको अन्तर प्रदेश समन्वय बैठकलाई बुधवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताउनु भएको हो ।
‘लुम्बिनी र गण्डकी प्रदेश हुँदै धेरै पूर्वाधार निर्माणका कार्यहरू अघि बढेका छन् । तर, केही योजनाहरू अपेक्षित रूपमा अघि नबढ्दा समस्या उत्पन्न भएको छ’उहाँले भन्नुभयो,‘यि समस्या पनि आपसी समन्वय र सहकार्यबाट समाधान गर्न सकिन्छ ।’
बुटवल–नारायणघाट सडक खण्ड, कालिगण्डकी करिडोरको बाँकी रहेका कामहरु चाँडो सम्पन्न गर्न प्रदेश तहबाट पहल सुरु गरिएको बताउनु भयो । लुम्बिनी प्रदेशमा उत्पादन भएका वस्तुहरू गण्डकी प्रदेशमा निर्यात हुने गरेको, यसको थप व्यवस्थित व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो । साथै, गण्डकी प्रदेशका उत्पादनहरूलाई लुम्बिनीमा बजारीकरण गर्दै व्यापार प्रवर्द्धन गर्न सकिनेमा पनि उहाँले जोड दिनुभयो ।
कृषि क्षेत्रलाई प्रवद्र्धन गर्दै दुबै प्रदेशले संयुक्त रूपमा प्रभावकारी कार्य गर्न सक्ने बताउँदै उहाँले यो बैठक दुबै प्रदेशको आर्थिक तथा विकास समृद्धिका लागि महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो । कानून निर्माणको सन्दर्भमा प्रदेशस्तरमा एकरूपता ल्याउने बारेमा समेत धारणा राख्नु भयो । संविधान अनुसार प्रदान गर्नुपर्ने अधिकारहरू प्रदेशलाई हस्तान्तरणकालागि पनि प्रदेशहरुको विचमा समन्वय र सहकार्य बढाउन आवश्यक रहेको भनाई उहाँको छ ।
केही आवश्यक कानूनहरूको निर्माण प्रक्रिया अघि नबढ्दा विभिन्न जटिलता उत्पन्न भएको भन्दै उहाँले अन्तर प्रदेश समन्वयात्मक बैठकले यी समस्या समाधानका लागि प्रभावकारी पहल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।