Hamroprayas
सिद्धबाबामा महाशिवरात्रि मेलाको तयारी पुरा, ५० हजार बढी भक्तजन भित्राउने लक्ष्य

बुटवल,फागुन १३
महाशिवरात्रि पर्वको अवसरमा तिनाउ ३ पाल्पामा अवस्थित सिद्धबाबा मन्दिरमा लाग्ने शिवरात्रि मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि शिबरात्रीको अवसरमा बिशेष पूजा अर्चनाको आयोजना गरिएको सिद्धबाबा मन्दिर विकास समितिले जानकारी दिएको छ । मन्दिर बिकास विकास समितिले मन्दिर परिसरमा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष सन्तोष कुमार शेरचनले महाशिवरात्रि पर्वमा शिबपुजन,अखण्ड हरि कृतन ,रुद्राभिसेक पुजा र बिशेष पाठ गरिने जानकारी दिनुभयो। 

महाशिवरात्रीको अवसर पारेर पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित मन्दिरलाई चिटिक्क सिँगारिएको छ । मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सहजताका लागि टोकन र निःशुल्क बसको व्यवस्था समेत गरीएको छ । अध्यक्ष शेरचनका अनुसार वृद्धवृद्धा, अशक्त, असाहयहरुले भने सिधैं मूल मन्दिरमा गएर पूजा गर्न सक्नेछन् ।सिद्धबाबा क्षेत्रमा सरसफाइ, शौचालय, पार्किङ, भण्डारा, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ । भक्तजनहरूलाई दर्शनका लागि बिहान ४ बजेदेखि नै मूल मन्दिर खुला गरिने छ ।


 विगतमा भक्तजनहरु २ देखि ३ घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेकोमा यसबर्ष ४ वटा लाइनको व्यवस्था गरी १ घण्टा भित्रमै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको महाशिवरात्रि मेला संयोजक तोया लम्सालले बताउनुभयो ।मन्दिरमा दर्शन गर्न जाने भक्तजनका लागि बुटवलका विभिन्न ठाउँबाट दुई वटा निःशुल्क र ७ वटा सशुल्क बसको व्यवस्था मिलाइएको लम्सालले बताउनुभयो  । पाल्पाको दोभान , बुटवलको योगीकुटी, कालिकानगर, अस्पताल लाइन, देबिनगर, शान्ति चोक, मिलनचोक, ट्राफिक चोक र गोलपार्कबाट बस छुट्नेछन् । भक्तजनलाई दिनभर यातायात सेवा उपलब्ध गराउने लम्सालको भनाई छ ।

तिनाउ गाउपालिका उपाध्यक्ष लालबहादुर थापाले सिद्धबाबाबको दर्शन संगै सुरुङमार्गको पनि अवलोकन हुने भएकाले दर्शनार्थी बढ्न सक्ने बताउनुभयो । उहाँँले सबै भक्तजनहरुका लागि राम्रो प्रबन्ध मिलाईएको भनदै मन्दिर दर्शन गर्नका लागि आग्रह समेत गर्नुभयो । 

गतबर्षको शिबरात्रीमा ३५ हजार भक्तजनले दर्शन गरेको बताउदै, यो बर्ष करिब ५० हजार भक्तजन भित्राउने गरि तयारी गरिएको समितिका उपाध्यक्ष अमर सिंह प्रधानले बताउनुभयो । पुजा सम्पन्न गर्न स्वयंसेवकको रुपमा बिभिन्न २७ वटा संघसस्थासंग समन्वय गरिएको छ ।  भक्तजनको चाप अनुसार आवश्यकता अनुसार स्वयंसेवक खटिने र ब्यवस्थित गर्नेगरि तयारी गरिएको समितिले जनाएको छ ।

रुपन्देही आसपासमा रहेका भजन मण्डलीबाट भजन किर्तन र सोही रात जाग्राम सहितका बिशेष पूजाआजाको तयारी गरिएको सचिव अरबिन्द पाण्डेयले बताउनुभयो। महाशिवरात्रि मेला सम्पन्न गर्न ६ लाख बढी खर्चहुने अनुमान गरिएको छ । मन्दिरमा नेपालका करिब ७० जील्ला र भारतको गोरखपुरबाट ३० प्रतिशत सम्म भक्तजन आउने गरेका छन् । रूपन्देही र पाल्पाको सिमाना नजिकै पाल्पाको तिनाउ गाउँपालिकामा रहेको लुम्बिनी प्रदेशकै पशुपतिनाथका रुपमा परिचत सिद्धबाबा मन्दिरमा महाशिवरात्रि पर्व, शनिबार,सोमबार र नयाबर्षमा बिशेष भक्तजनहरूको घुँइचो लाग्ने गर्दछ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले शिवरात्रि पर्वमा बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरेर शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । महाशिवरात्री पर्ब आराध्यदेव भगवान शिवको शिवको पूजा–आराधना गरी फागुन १४ गते बुधबार देशैभर मनाइँदैछ ।  सिद्धपुरुष भर्तृहरिले यही क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेकै कारण यस मन्दिरको नाम सिद्धबाबा रहन गएको धार्मिक विश्वास किंवदन्ति छ  । 

पर्यटकीय केन्द्रको रुपमा परिचत शिवजीको मन्दिरको रुपमा परिचित भएपनि यहाँ विभिन्न १० देवताका पूजाआजा हुने गर्दछन् । भक्तजनले मागेको वर प्राप्त भई मनोकामना सिद्धि हुने भएको हुँदा यस मन्दिरमा भक्तजनको घूइँचो लाग्ने गर्दछ ।


 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  २२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update