Hamroprayas
मेयर पाण्डेको एकलौटी कार्यशैली प्रति एमाले बुटवलले जनायो आपत्ति

बुटवल,कार्तिक २२

बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेको एकलौटी कार्यशैली प्रति एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति प्रकट गरेको छ ।नगर सरकारलाई एकलौटी ढंगबाट चलाउन खोजेको भन्दै एमाले बुटवल उपमहानगर कमिटीले गम्भीर आपत्ति प्रकट गरेको हो । 

एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवालीले बुधबार एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई गैरकानुनी काममा दवाव दिने र नगरपालिकालाई आफ्नो तजविजीबाट चलाउन खोजेको भन्दै आपत्ती जनाउनुभएको छ ।
“मेयर पाण्डेले संविधान र कानुन विपरित स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिदै आफ्नो व्यक्तिगत तजविजमा कानुनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ”–विज्ञप्तीमा उल्लेख गरिएको छ ।

मुलुक आर्थिक मन्दीको चपेटामा परिरहेको बेला व्यक्तिगत इगोमा कर्मचारीलाई निष्काशन गरी आफ्ना आफन्तलाई भर्ती गर्न खोजेको, स्थानीय सरकारको बजेट तजविजमा अनुदानबापत वितरण गर्न कार्यकारी प्रमुखलाई दवाव दिएको भन्दै एमालेले विज्ञप्तीमा उक्त कार्यप्रति खेद प्रकट गरिएको छ ।

बहुमतको दम्भको आडमा गरिने असंवैधानिक क्रियाकलापले सिंगो उपमहानगरको विकास निर्माण, आर्थिक समृद्धि र सुशासन धरापमा परेको भन्दै एमालेले आगामी दिनमा यस्ता गतिविधि नगर्न र गरेमा सशक्त प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।

मंगलबार मात्र बुटवलका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुसाल र मेयर पाण्डेबीच खटपट परेपछि प्रशासकिय अधिकृत काठमाडौ हिँडेको खबर सार्वजनिक भएपछि एमालेले बिज्ञप्ती जारी गरि आपत्ति जनाएको हो । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update