Hamroprayas
समृद्ध नगर,सुखी नगरबासी बनाउने अभियानमा बुद्व सामुदायिक वनको योगदान अतुलनीय छ–उपप्रमुख

बुटवल,कार्तिक २३
बुद्व सामुदायिक वन उपभोक्ता समूह,देवदहको १२ ओैं वार्षिक साधारणसभा बिहिवार देवदहमा सम्पन्न भयो । वार्षिक साधारणसभामा समूहका अध्यक्ष टेकबहादुर रानाले वार्षिक प्रगति प्रतिवेदन र चालू वर्षको योजना तथा कार्यक्रम पेस गर्नुभएको थियो  । साथै समूहकी सचिव राधिका कुमारी अर्यालले गत आर्थिक वर्षको आर्थिक प्रगति प्रतिवेदन र यस वर्षका लागि करिव डेढ करोड बराबरको अनुमानित वजेट पेश गर्नुभएको थियो । 

सभाकी प्रमुख अतिथि देवदह नगरपालिकाकी उपप्रमुख बिद्यालक्ष्मी गुरुङले बुद्व सामुदायिक वनले देवदहलाई देश र विदेशसम्म चिन्ने गरि पर्यापर्यटन विकासका लागि राष्ट्रिय गौतमबुद्व उद्यान बनाएकोमा खुसी प्रकट गर्नुभएको थियो । समृद्ध नगर,सुखी नगरबासी बनाउने अभियानमा बुद्व सामुदायिक वनको योगदान अतुलनीय रहेको उल्लेख गर्दै फोहोर व्यवस्थापन,वातावरणीय सरसरफाइ,आयमुखी क्रियाकलापमा जोड दिएकोमा वनप्रति आभार प्रकट गर्नुभयो। 

सभाका विशिष्ट अतिथि एवम् नगर प्रवक्ता गणेश डुम्रेले वनका ढलापडा कुहिएर जाने तर स्थानीयले प्रयोग गर्न ऐन बाधक रहेका समस्याले देवदह नगरले छिट्टै स्थानीय वन ऐन, कानून,नियमावली ल्याउन थालेको बताउनुभयो । साथै वनले वनउद्यममा ध्यान पुराउनु पर्ने बताउनुभयो । उक्त सभामा वडा नं. ६ का वडाध्यक्ष खेमबहादुर थापाले वनलाई आर्थिक उपार्जनको बाटो बनाउनु पर्नेमा चर्चा गर्नुभयो । 

सो सभामा विशिष्ट अतिथिका रुपमा रहेका सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले वनप्रतिको निर्भरता घटाउँदै हरिया वनबाट हरिया नोट आम्दानी गर्न सकिने वैधानिक उपाय र बाटाका बारेमा जानकारी गराउनुभयो ।

स्थानीय वनलाई उद्यमसँग जोड्न सीपमूलक काममा वन लाग्नु पर्ने सुझाउनुभयो  । उक्त सभामा देवदह सब डिभिजनल वनका अधिकृत मुसाफिर भगत,खेमनारायण अधिकारी,यमलाल तिवारी,सन्तोष भट्टराई,थमनसिंह गुरुङ लगायतले बुद्व सामुदायिक वनका काम प्रशंसनीय र प्रभावकारी रहेको बताउनुभयो ।वार्षिक साधारणसभाका अवसरमा समूहले ८० नाँघेका आफ्ना ज्येष्ठ उपभोक्ताहरुलाई दोसल्ला तथा नगदले सम्मान गरिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update